गिरीबन्धु बेचेर खान नपाएपछि कांग्रेसले 'स्यालहुँइया' मच्याएको एमाले अध्यक्षको आरोप

गिरीबन्धु बेचेर खान नपाएपछि कांग्रेसले 'स्यालहुँइया' मच्याएको एमाले अध्यक्षको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष नेपाली कांग्रेसको चर्को आलोचना गर्नुभएको छ । आफ्नो पार्टीले देशका लागि काम गरिरहँदा काँग्रेसले अवरोध गरेर 'स्यालहुँइया' मच्याएको भन्दै उहाँ आक्रमक हुनुभएको हो । 

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले राम्रा काम गर्न नदिन कांग्रेसले अनर्गल प्रचार गरिरहेको आरोप लगाउनुभयो । गिरीबन्धु प्रकरणमा काँग्रेसले आफूविरुद्ध गलत प्रचार गरेको भन्दै उहाँले वैचारिक संघर्ष गर्न नसकेपछि एमालेमाथि प्रहार गरेको दाबीसमेत गर्नुभयो । 

एमालेविरुद्ध शृंखलावद्ध दुष्प्रचार भैरहेको जनाउँदै ओलीले सोध्नुभयो, 'पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो केपी ओलीले छानबिन गरी पाउँ भनेर कराए । जलाहरी भत्काएर, तौलिएर, सुन हो की होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ? १०८ केजी सुनवाला कहाँ गयो त्यो  ? अर्को करायो एउटा- कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे । कहाँ गयो त्यो अचेल ? फिर्ता ल्याए भयो नि त्यो पैसा !  उनीहरुको सरकार थियो, अस्तिसम्म । किन ल्याएन फिर्ता ?

अहिले गिरीबन्धु टि-स्टेटको जग्गाको विषयमा पनि त्यसैगरी अनर्गल प्रचार गरेर आरोप लगाउने काम भैरहेको उहाँको जिकीर छ । अध्यक्ष ओलीले गिरीबन्धुको जग्गा कानुन बनाएर नियमन गर्न खोज्दा आफूमाथि प्रहार भएको बताउनुभयो ।  

'अहिले गिरीबन्धु टि-स्टेट भनेर जानेका छन् । कराएका छन् । गिरीबन्धु टि-स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिगाह गरेर ७० बिगाह कानून, नियम बिना बलजफ्ती बिक्री गरेर खाएका थिए । तिनै तत्वहरुले खाएका थिए । गिरीबन्धु टि-स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौँ, कानून बनाएपछि नियम कानूनभित्र बस्नुपर्यो । बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन्', ओलीको दाबी छ । 

फरक सन्दर्भमा अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको तर, विभाजन र गुटबन्दीका लागि कुनै स्थान नभएको प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू