मोदीसँगको वार्तामा छोरीलाई सँगै राखेकोमा प्रधानमन्त्रीको आलोचना

मोदीसँगको वार्तामा छोरीलाई सँगै राखेकोमा प्रधानमन्त्रीको आलोचना

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको 'वान टु वान' वार्तामा छोरी गङ्गा दाहाललाई सँगै राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमको आलोचना भैरहँदा यो विषय सदनमा पनि उठेको छ । 

आज प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले यसबारे प्रश्न गरेकी हुन् । उनले प्रधानमन्त्रीको भ्रमण राजनीतिक हो कि पारिवारिक भन्दै व्यंगसमेत गरिन् । 

'सभामुख महोदय भ्रमणका फोटोहरु सार्वजनिक भएका छन् । हेर्दा पारिवारिक, राजनीतिक वा कुन भेटघाट हो भन्ने ठम्याउन सकिन', सांसद न्यौपानेले भनिन्, 'पारिवारिक भन्ने हो भने भारतका प्रधानमन्त्रीको कोही सदस्य देखिंदैन, राजनीतिक भन्ने हो भने भ्रमण दलका मन्त्री र आधिकारिक सदस्यको ठाउँमा पारिवारिक सदस्यको उपस्थिति छ ।'

'वान टु वान' वार्तामा अनाधिकृत व्यक्तिलाई राख्नु हस्तक्षेप हो भन्दै उनले अगाडि भनिन्, 'यो परिस्थितिमा मेरो देशको प्रधानमन्त्रीको कुरा छिमेकी राष्ट्रले कति गम्भीरतापूर्वक लियो होला सहजै अनुमान गर्न सकिन्छ । भ्रमणमा परराष्ट्र सचिव जानुभएको रहेछ। तर, बस्ने स्टाटस पिएको भन्दा पछि राखेको अर्को फोटो सार्वजनिक भएको छ। यस्ता क्रियाकलापले केही क्षणकै लागि भए पनि प्रधानमन्त्रीको पारिवारिक सदस्यको उचाई त बढ्यो होला, देशको उचाई कहाँ पुग्यो ?'

सांसद न्यौपानेले प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा राजदूत फिर्ता बोलाउने सरकारको निर्णय र त्यसबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाईन । प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्केलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भ्रमणको ठिक केही दिनअघि राजदूत फिर्ता बोलाउनु कमजोरी भएको घुमाउरो स्वीकार गर्दै ध्यान नपुगेको बताएका थिए। 

त्यसप्रति कटाक्षपूर्ण टिप्पणी गर्दै न्यौपानेले भनिन्, 'भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा जानुअघि राजदूत फिर्ता बोलाइन्छ । फर्कनेबितिक्कै एयरपोर्टमा फिर्ता बोलाएका राजदूतले राम्रो सहयोग गर्नुभयो भनेर प्रधानमन्त्रीद्वारा प्रशंसा गरिन्छ र भनिन्छ केही दिनपछि फिर्ता गरेको भए हुन्थ्यो ध्यान पुगेन । सरकार कसरी चलिरहेको छ भन्ने यहि एउटा घटनाले प्रष्ट पारेको छ ।'

 

टिप्पणीहरू