एमाले नेतामाथि बलात्कारमा अर्को उजुरी

एमाले नेतामाथि बलात्कारमा अर्को उजुरी

एमाले युवा नेता महेश बस्नेतविरुद्धको यौनकाण्ड कानुनतः किनारा लाग्न नपाउँदै अर्का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पनि सरकारी वकिल गुहार्ने काम भएको छ ।

बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध महिलाले जबर्जस्तीकरणीको जाहेरी निवेदन पुलिसले लिन नमान्दा जिल्ला सरकारी वकिलकोमा पुगेको छ । बालकोट गएर एमाले अध्यक्ष केपी ओली सामू मिलापत्र गरेकी ती महिलाले पछि फेरि कुरा नमिल्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई हुलाकमार्फत र सरकारी वकिल कार्यालय काठमाडौंमा आफैं उपस्थित भई उजुर दर्ता गराएकी हुन् ।

उनले प्रभाव र दवावका आधारमा प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको हुँदा हुलाक र सरकारी वकिल कार्यलयको वैकल्पिक बाटो अपनाउनुपरेको दावी गरेकी छन् । महरविरुद्धको जाहेरीमा उनले घटना एक डेढ वर्षअघिको उल्लेख गरे पनि वारदात स्थल, समय र जबर्जस्तीकरणी देखिने अन्य महत्वपूर्ण प्रमाण भने दिन नसकेको बताइन्छ । ज्यादै फितलो जाहेरी भए पनि दर्ता गर्नै पर्ने कानुनी व्यवस्था छ ।

जबर्जस्तीकरणी भएको भनिए पनि प्रमाणहरूको अभावमा मुद्दा दायर गर्नलाई  यथेष्ट प्रमाणको अभाव देखिएको स्रोतको दावी छ । यो पनि शोभा पाठकले महेश बस्नेतविरुद्ध लगेकोजस्तै दम नभएको मुद्दा भएकाले ढिसमिस हुनसक्छ । 

अहिले सरकारी वकिल कार्यालयमा जबर्जस्तीकरणी, विश्वासघात, चेक बाउन्सलगायत विषयमा उजुरी दर्ता गर्नेको संख्या बढ्दो छ । अनुचित लेनदेन, त्यसपछि मीटरव्याजी आदिमा तारन्तार एउटै व्यक्तिविरुद्ध मुद्दाको चाङमाथि चाङ थुपार्ने चलन छ । कानुनी व्यवस्थाका कारण जस्तो जाहेरी आए पनि दर्ता भने हुन्छ तर अनुसन्धानका लागि पुनः जिल्ला प्रहरी कार्यालयमै पठाउनुपर्ने बाध्यता छ । 

रिस उठ्नासाथ जाहेरी दिई दुःख, हैरानी दिने प्रवृति पनि बढेको पाइन्छ । यस्तै कारण कतिपय वास्तविक मुद्दा पनि ओझेलमा पर्ने गरेको अनुभव सरकारी वकिलहरूले गर्न थालेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू