हेडसरले छात्रा कुट्ने, पत्रकार चुप लाग्ने

हेडसरले छात्रा कुट्ने, पत्रकार चुप लाग्ने

बैतडीको सिंगास गाउँपालिका–५, खैरकोटस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि निर्घात कुटपिट भएको छ । प्रधानाध्यापक वीरेन्द्रसिंह धामीले छात्रा संगीता धामीलाई मरणासन्न हुनेगरी पिटेका हुन् । गाउँपालिका अध्यक्ष हरिसिंह धामीका भाइ उनले आफूमाथि लागेको आरोप नकारेका छन् । अन्धाधुन्द विद्यार्थी कुटेका उनले छात्रामा ‘बैना’ (डाँडाको भूत) चढेको दाबी गरे । 

विद्यालयको ‘लेटरप्याड’ मा उनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निज छात्रा काम्दै विद्यालयको डिलतिर हामफालेको र आफैं लछारपछार गर्दा यस विद्यालयका सम्पूर्ण शिक्षक र कक्षा १० का सम्पूर्ण विद्यार्थी मिलेर निजलाई कठिन परिश्रम गरी समातेर कोठाभित्र राखेको ठीक साँचो हो । हामफाल्ने र जमिनमा आफ्ना हातखुट्टा आदि अंग बजार्दै गर्दा निजको शरीरको केही भागमा सामान्य राता डाम देखिएको छ ।’

विद्यार्थीमा भूत चढेको सत्य सावित गर्न धामीले भिडियोसमेत बनाउन लगाएको बताइन्छ । हाल सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । छात्राहरू विद्यालयको चौरमा घिस्रिरहेको भिडियोमा देखिन्छ । पीडित परिवार भने विज्ञप्तिमा उल्लिखित दाबी मान्न तयार छैनन् । उनले खानेपानीको पाइपले पिटेको पीडित परिवारको आरोप छ । 

घटना जेठ ३० गतेको हो । कक्षा ९ मा अध्ययनरत संगीता शिक्षक नआएपछि साथीसँग शौचालय गइन् । फर्केर आउँदा प्रधानाध्यापक धामी कक्षामा थिए । उनले बाहिर गएको भन्दै खानेपानीको पाइपले मर्नेगरी पिटे र संगीतालाई कक्षाकोठा बाहिर निकाले । कुटाइ सहन नसकेर भुइँमा ढलेकी उनको पेटमा चोट लागेको छ । शरीरभरि निलडाम छ । 

हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको पीडितका नातेदार जगदीश धामीले जानकारी दिए । उनका अनुसार पीडितलाई होश आए पनि बोल्न सकेकी छैनन् । घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालयलाई मौखिक जानकारी गराइएको उनले बताए । ‘प्रधानाध्यापकले संगीतालाई खानेपानीको पाइपले हिर्काउनुभएछ, त्यसपछि उनी कक्षाकोठाबाट बाहिर आएर ढलिछन्, अहिले होश त आयो तर बोल्न सकेकी छैनन्,’ उनले भने । 

यता, जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी विद्यालयमा पहिलोपटक ‘बैना’ देखिएको बताउँछन् । अचानक ‘बैना’ देखिएको भन्दा आफू पनि आश्चर्यमा परेको उनको भनाइ छ । भन्छन्, ‘म अहिले काठमाडौंमा छु, कुटपिट भएकोसम्म जानकारी पाएँ, आजसम्म सो विद्यालयमा बैना देखिएको थाहा छैन । शारदा माविमा चाहिँ कहिलेकाहीँ देखिन्छ ।’ यस विषयमा बुझ्न पटक–पटक प्रधानाध्यापक धामीलाई फोन गर्दा पनि सफल हुन सकेन । स्थानीयका अनुसार धामीलाई उनकै दाजुले प्रधानाध्यापक नियुक्त गरेका हुन् । स्थायी शिक्षक हुँदाहुँदै राहत दरबन्दीमा कार्यरत उनलाई प्रधानाध्यापक बनाइएपछि चर्को विरोध भएको थियो ।

पीडित छात्राका आमाबुवा दुवै जना भारतको बैंग्लोरमा मजदुरी गर्छन् । छोरीलाई प्रधानाध्यापकले मरणासन्न हुनेगरी कुटपिट गरेको सुनेर उनीहरू स्तब्ध बनेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीले भने आधिकारिक जाहेरी आएमा मात्र कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । 

सामाजिक सञ्जालमा पत्रकारको विरोध 

छात्रालाई पाइपले मरणासन्न हुनेगरी कुटपिट गरेको विषयमा समाचार नलेखेपछि जिल्लाका पत्रकारको चर्को विरोध भएको छ । गाउँपालिकाबाट विज्ञापन लिएकाले बेथिति हुँदासमेत कलम नचलाएको स्थानीयको आरोप छ । लक्ष्मण साउदले लेखेका छन्, ‘हुन त सिंगासमा विभिन्न किसिमका प्रेस समिति छन् । तर, यस्ता समिति, समूह भनेका झगडा, लफडा भएर मिलेपछि प्रहरी पुग्नु, बिरामी परेपछि एम्बुलेन्स पुग्नुजस्तै हुन् । माथिबाट खस्ला र खाउँला भनेर हात थाप्नुभएन तर ठीक उल्टो छ यहाँ । जनचेतनाको कमी भनौँ त्यस्तो पनि छैन । मौन मिडिया, जय सिंगास ।’

स्थानीय सिंगास सञ्चार समूहलाई पालिकाले रेडियो खोल्न १५ लाख रूपैयाँ बजेट दिने निर्णय गरेपछि यो घटना लुकाएको पीडित परिवारको आरोप छ । जिल्लाको रेडियो, अनलाइन र छापामाध्यमलाई पालिकाले अहिलेसम्म ५० लाख रूपैयाँभन्दा बढीको विज्ञापन दिएको बताइन्छ । 

काण्डैकाण्डको दलदलमा सिंगास

सिंगासमा यस्तो घटना घटेको पहिलोपटक होइन । गाउँपालिका अध्यक्ष धामीले गत वर्ष सडक उपभोक्ता समितिका अध्यक्ष बिर्ख धामीलाई सडक निर्माणको चेक बैंकमा रोक्न लगाएर कुटेका थिए । उपचार खर्च व्यहोर्नेगरी सो घटना मिलेमतोमा टुंगियो । हाल छात्रामाथि कुटपिट भएको छ ।

घटनालाई बाहिर नल्याउन छात्राका दाइलाई पैसाको प्रलोभनसमेत देखाएको बताइएको छ । धामीसहित उनका छोरा र भाइ पटकपटक यौन दुराचारमा मुछिएको बताइन्छ । प्रधानाध्यापक धामी पनि महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दुईपटक पक्राउ परिसकेका छन् । 

‘रंगेहात’ काण्ड चौकीमै सामसुम 

०७६ जेठमा पालिका अध्यक्ष धामी वडा नम्बर २, गाँजरीस्थित वडा कार्यालयको तल्लो तलामा स्थानीय एक महिलासँग आपत्तिजनक अवस्थामा फेला परेका थिए । स्थानीय युवाले बाहिरबाट ताला लगाएर खबर गरे । घटना प्रहरीकहाँ पुगेपछि आर्थिक लेनदेन गरेर चौकीमै सामसुम पारियो । पालिका अध्यक्षको ‘सेटल’ भयो तर ती महिलाको घरबार बिग्रियो । ती महिलाका श्रीमान् रोजगारीका लागि भारत गएको बेला यस्तो घटना घटेको हो । 

‘बलात्कार’ को घटना सुनमा रफादफा 

बलात्कारजस्तो जघन्य अपराधलाई एक तोला सुन दिएर मिलाएको आरोपमा गाउँपालिकाका रोजगार संयोजक राजेन्द्रसिंह धामी र प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष अमरसिंह धामीले जेलको हावा खाइसकेका छन् । फरार रहेका उनीहरू एक महिनाअगाडि छुट्नासाथ पालिका अध्यक्षले सोही पदमा नियुक्त गरेका छन् । रोजगार संयोजक हुनुअघि राजेन्द्र विद्युत योजनाको उपभोक्ता अध्यक्ष थिए । वडामा बिजुली बत्ती बाल्न जिम्मा दिइएका उनीमाथि रकम दुरूपयोग गरेर तार र पोल अलपत्र पारेको आरोप छ ।
 

टिप्पणीहरू