सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेसँग सोधपुछ हुने

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेसँग सोधपुछ हुने

सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिइने भएको छ । सहकारीको बचत दुरुपयोग छानविन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्रीसँग सोधपुछ गर्ने भएको हो । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा कार्यविधि २०८१ पारित गर्दै समितिले अनुसन्धानको कार्यक्षेत्र तय गरेको छ । कार्यविधिको बुँदा नं १४ को ख (३)मा सहकारी संस्थाहरुबाट रकम प्रवाह भएको गोरखा मिडिया नेटवर्क प्रा.लि लगायत अन्य कम्पनी वा संस्थाका तत्कालीन र वर्तमान सञ्चालक, व्यवस्थापक र व्यवस्थापकीय भूमिकामा रहेका व्यक्तिहरुसँग सोधपुछ गर्ने उल्लेख गरिएको छ । 

गृहमन्त्री लामिछाने तत्कालीन समयमा गोरखा मिडियाको प्रवन्ध निर्देशक थिए । कार्यविधिले तय गरेअनुसार समितिले काम गरे उनलाई सोधपुछमा बोलाउनुपर्ने हुन्छ । 

समितिले सहकारी पीडितहरुको प्रतिनिधिसँग पनि गम्भीर छलफल गर्ने जनाएको छ । कार्यविधि अनुसार समितिले सहकारी अनुगमन तथा सुपरिवेक्षण गर्ने मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालय, प्रदेश सरकारको विषय हेर्ने निकाय, स्थानीय तह र राष्ट्रबैंकका अधिकारीहरूसँग आवश्यक छलफल तथा सोधपुछ गर्न सक्नेछ ।

कार्यविधिमा समितिले कुनै पनि सदस्य संयोजक रहने गरी उपसमिति तथा कार्यदल गठन गर्न सक्ने पनि उल्लेख गरिएको छ । एमाले सांसद सूर्यबहादुर थापा सभापति रहेको सात सदस्यीय समिति गत जेठ १५ गते गठन भएकाे थियाे । तीन महिने कार्यावधि पाएको समितिले समस्याग्रस्त घोषणा भएका २० र समस्यामा परेका ९ गरी २९ सहकारीमा केन्द्रित रहेर अध्ययन तथा छानविन गर्नेछ ।

 

टिप्पणीहरू