संवैधानिक भागबण्डामा कसरी बाजी मारे कृष्णमानले ?

संवैधानिक भागबण्डामा कसरी बाजी मारे कृष्णमानले ?

निर्वाचन आयोगमा भर्खरै कृष्णमान प्रधानको नाम सिफारिस भएको छ । उनी ०७९ साल फागुन ५ गते निर्वाचन आयुक्त ईश्वरी पौडेल रिटायर्ड भएको १६ महिनापछि रिक्त पदमा हालै सिफारिस भएको हो । महालेखापरीक्षकमा तोयम रायसँगसँगै उनको पनि नियुक्ति हुने चर्चा थियो । कानुन सुधारको क्षेत्रमा ४ दशकदेखि सक्रिय प्रधानलाई संवैधानिक पदाधिकारीको रूपमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नियुक्त गरेका ५२ भाइविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने समूहनिकट भनी चर्चा गरिन्छ । यही पदमा कानुन सचिव धनराज ज्ञवाली नियुक्त हुने चर्चा पनि थियो ।

महालेखा परीक्षकमा पूर्वअर्थसचिव शिशिर ढुंगाना नियुक्त हुने चर्चा चल्दाचल्दै वाइडबडी प्रकरणमा मुद्दा चलाइएपछि तोयम रायाले नियुक्ति पाएजस्तै ज्ञवालीको नाम बेफ्वाँकमा टेरामक्समा मुछ्न लगाइँदा प्रधानले बाजी मारेका हुन् । कांग्रेसले एकदिने सचिव बनाएर निर्वाचन आयोगमा लान खोजिएका शंकर खरेल पनि सम्भावित सूचीमा थिए । उनकी श्रीमती कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको नेतृत्व तहमा रहेको कारण यो सम्भावना प्रवल थियो । कांग्रेस नेता शेखर कोइरालाका व्यक्तिगत सहयोगी दिनेश थपलियाले खरेलको नियुक्तिका लागि निकै बल गरेका थिए । २०२४ साल भदौ ११ गते तारकेश्वर गाउँपालिका–३ चन्दनी नुवाकोटमा जन्मेका र ०४८ देखि नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधान भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको दुःखसुखका साथी भनेर चिनिन्छन् । यसअघि उनको नाम प्रधानमन्त्री प्रचण्डले ओके गरे पनि एमाले अध्यक्ष ओलीले आनाकानी गरेको अवस्था थियो । 

धनराज ज्ञवालीलाई निर्वाचन आयुक्तमा लाँदा प्रमुख आयुक्त दिनेश थपलिया, आयुक्त जानकी तुलाधर र रामप्रसाद भण्डारीको हुलमा अर्को एक जना एमाले पनि थपिने भएपछि प्रधानले मौका पाएको दाबी पनि गरिएको छ । सैनिक पृष्ठभूमिका  सगुनसमशेर राणालाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको कोटाबाट निर्वाचन आयोगमा छिरेको ठानिन्छ । प्रधानचाहिँ अहिलेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको समेत अत्यन्त निकट भनी चिनिन्छन् । विश्वम्भरको कार्यकालभरि ५२ भाइको मुद्दा हेर्न संवैधानिक इजलाश बसेन भने प्रधानको नियुक्ति सिफारिसमा रवि लामिछानेसमेत भएर जुटेको राष्ट्रिय सहमतिका अन्तर्य क्रमशः बाहिर आउने नै छन् ।
 

टिप्पणीहरू