जाग्यो माओवादी र एमाले नेतामाथि द्वन्द्वकालको ज्यानमुद्दा

जाग्यो माओवादी र एमाले नेतामाथि द्वन्द्वकालको ज्यानमुद्दा

जिल्ला अदालत सिन्धुलीले माओवादी जनयुद्धकालको ज्यानसम्बन्धी पुरानो मुद्दा ब्युँताउन आदेश दिएको छ । 

माओवादीको केन्द्रीय तहका नेताहरुसमेत विपक्षी रहेको २३ बर्ष पुरानो मुद्दा जिल्ला न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले गत जेठ २३ गते दर्ता गर्न आदेश गरेको हो । यसअघि उक्त मुद्दा मुल्तवीमा राखिएको थियो । 

सिन्धुलीका गोरे श्रेष्ठले २०५७ सालमा तत्कालीन माओवादी बिद्रोहीका २१ जना नेता-कार्यकर्तालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएका थिए । ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा दर्ता गरिएको उक्त मुद्दामा अहिले विभिन्न घटकमा रहेका माओवादीका शीर्ष नेतासमेत  विपक्षी छन् । 

मुद्दामा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल,राष्ट्रियसभा सदस्य गोपी अछामी,मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेललाई प्रतिवादी बनाइएको छ । त्यस्तै, प्रतिवादी बनाइएकी निरु दर्लामी हाल एमाले केन्द्रीय सदस्य छिन् । 

केही प्रतिवादी बेपत्ताको सूचीमा छन् भने शेरमान कुँवर,मोहनचन्द्र गौतमलगायतका केही प्रतिवादीको निधन भैसकेको छ । 
-
जिल्ला अदालतले २०५८ साल मंसिर १८ मा प्रतिवादीहरुविरुद्ध म्याद जारी गरेको थियो । तर, भूमिगत माओवादी नेताहरू हाजिर नभई फरार रहेपछि अदालतले मुल्तबीमा राख्न आदेश दिएको थियो । 

न्यायाधीश पौडेलको आदेशमा मुल्तबीबाट जगाई कारबाही अगाडि बढाउनको लागि गत वर्ष जेठ २२ गते कर्मचारीको प्रतिवेदन परेको देखिँदा फौजदारी कार्यविधि संहिता बमोजिम जगाएको उल्लेख छ । 

'यसमा नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दा २०५८/०८/१८ मा प्रतिवादीहरुको नाममा रितपूर्वक म्याद जाऱी भए तापनि निजहरु हाजिर नभई फरार रहेको देखिएकाले मुल्तबीमा राख्नु भन्ने आदेश भएको र प्रस्तुत मुद्दा हालसम्म जागेको नदेखिँदा, मुल्तबीबाट जगाई कारवाही अगाडि बढाउनको लागि मिति २०८०/०२/२२ मा कर्मचारीको प्रतिवेदन परेको देखिँदा प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ (४) बमोजिम मुल्तबीबाट जगाई दिएको छ।  प्रस्तुत मुद्दा फौजदारी दायारीमा दर्ता गरी कानुन बमोजिम गर्नू', आदेशमा भनिएको छ ।

 

टिप्पणीहरू