एकीकृत समाजवादीले आवश्यकताअनुसार पद थप्दै जाने
नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या थपेर २१ सदस्यीय पुर्याउने भएको छ । पार्टी मुख्यालय आलोकनगरमा आज बसेको केन्द्रीय सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षको पद सृजना गरी पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।
आगामी महाधिवेशनबाट अनुमोदन गर्नेगरी बैठकले केन्द्रीय समितिको संख्या पनि २९९ पुर्याउने निर्णय गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको थियो ।
प्रवक्ता जगन्नाथ खतिवडाले सम्मानित नेताको पद कायमै राखेर वरिष्ठ उपाध्यक्ष थप्ने निर्णय भएको जानकारी दिए । उनले आवश्यक्ताअनुसार वरिष्ठ नेताको पद सिर्जना गर्न सकिने पनि बताए ।
आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूलाई अन्तिम एक कार्यकालको लागि सर्वसम्मत नेतृत्व दिन अन्य नेताहरुलाई आग्रह गरेको बताइएको छ । तर, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसमेत अध्यक्षको आकांक्षी छन् ।
सो खेमाका नेताहरुले नेतृत्व पुस्तान्तरण आवश्यकतामा जोड दिँदै छलफलबाट टुंगोमा पुग्न सकिने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।
पार्टीले पर्सि शनिबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णय र महाधिवेशनको तयारीबारे जानकारी गराउने छ । एमालेबाट विद्रोह गरी २०७८ भदौ ९ गते गठन भएको एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।
टिप्पणीहरू