वामपन्थी एकताको प्रक्रिया अघि बढिसक्यो, सफल पार्न लागौँ - प्रधानमन्त्री प्रचण्ड

वामपन्थी एकताको प्रक्रिया अघि बढिसक्यो, सफल पार्न लागौँ - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ । बजेटलगायत सरकार संचालनका कतिपय विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच असमझदारी बढेको चर्चा भैरहँदा प्रधानमन्त्रीको यस्तो भनाई आएको हो । 

वामपन्थी एकतालाई सफल पार्न आ-आफ्नो ठाउँबाट सकारात्मक योगदान गर्नुपर्नेमा उहाँले जोडसमेत दिनुभयो । ‘हामी एकताको प्रक्रियातिर अघि बढि नै सकेका छौँ', काठमाडौँमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, 'यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।'

नकारात्मक भाष्य चिर्ने र अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको पनि उहाँले बताउनुभयो । क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रधानमन्त्रीको जिकिर छ । 

माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका उहाँले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्नेमा उहाँको जोड छ ।

टिप्पणीहरू