कुरो विदेशबाट फर्काउने, आफ्नै कर्मचारी स्वदेशमा रोक्न नसक्ने

कुरो विदेशबाट फर्काउने, आफ्नै कर्मचारी स्वदेशमा रोक्न नसक्ने
सुन्नुहोस्

मुलुकमा रोजगारीको पर्याप्त अवसर छैन् । जसका कारण वर्षेनि बेरोजगारी दर बढ्दो छ । यहाँ हरेक वर्ष पाँच लाखभन्दा बढी जनशक्ति श्रम बजारमा भित्रिने गरेका छन् । तर, सोअनुरुप रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । दिनहुँ झण्डै दुई हजार नेपाली आफ्नो जन्मथलो छोड्न बाध्य छन् । 

बेरोजगारीको समस्यालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अवसरमा बद्लिए । नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले सांसददेखि मन्त्रीसम्मको पद खाइदिएपछि २०८० वैशाख १० गते चितवनमा भएको उपनिर्वाचनका क्रममा उनले ‘निर्वाचन भएको एक सय दिनमा विदेशमा काम गर्ने कम्तीमा एक सय जना नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउँछु’ भनेका थिए । 

उपनिर्वाचन जितेको एक सय दिनमा उनले विभिन्न क्षेत्रमा रोजगारी दिने भन्दै एउटा विज्ञापन प्रकाशित गरे । एसी कम्पनी, स्किन क्लिनिक, टु–विलर्स, रियल स्टेट, हेल्थ सेक्टर, फुड इन्डष्ट्री, हेल्थ केयर, डिजिटल डिस्प्ले इन्डष्ट्री, एडभरटाइजिङ्ग एजेन्सी, हस्पिट्यालिटी इन्डस्ट्रीलगायतका क्षेत्रमा रोजगारी दिने भनिएको थियो । 

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै त्यसको प्रचारप्रसार गरियो । जुन अलपत्र परेको छ । रोचक प्रसङ्ग त के भने, लामिछानेको मन्त्री निवासको व्यवस्थापन हेर्दै आएका एक युवा विदेश लागेका छन् । विदेशबाट नेपालीलाई फर्काएर जागिर दिने आश्वासन दिएका लामिछानेले आफ्नै कार्यालयमा काम गर्ने युवालाई विदेश जानबाट रोक्न नसकेपछि प्रश्न उठाउनेको लर्को लागेको छ ।

दोलखा घर भएका सरोज केसीले उनको मन्त्री निवासको व्यवस्थापन हेर्दै आएका थिए । उनी हिजो दक्षिण कोरिया उडेका छन् । सामाजिक सञ्जालमा विदेश उड्न लागेको तस्बिर सेयर गर्दै उनले एउटा भावुक स्टाटस् लेखेका छन्,‘हामी फेरि भेट्ने छौं, स्वदेशतिर अलि धेरै वर्ष लाग्न सक्छ । पर...देशतिर केही घण्टा लाग्न सक्छ । तर, भेट भने अवश्य हुने छ । आफन्तहरुको मन केही बेर रुने छ तर चिन्ता गर्नुपर्दैन् केही वर्षपछि हाम्रो भेट हुने नै छ ।’

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोड्न रास्वपाका सह–कोषाध्यक्ष दीपकराज बोहोरा पुगेका थिए । उनी विदेश उडेपछि सामाजिक सञ्जालमा ‘नेपालीको नियति वैदेशिक रोजगारी’ भनि टिकाटिप्पणी गर्न थालिएको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘कोर टिमको एक सदस्य नै कोरिया भाँसिएपछि अब हामीजस्ता भुइँमान्छे नेपाल बस्ने अवस्था रहेछ त ?’

त्यस्तै, अर्कोले भनेका छन्,‘स्वतन्त्र पार्टीको विदेशबाट नेपाली कामदार फिर्ता गर्ने रणनीति फेल खाएकै हो ?’ एक जनाले निकै गहन शब्दमा लेखेका छन्,‘सत्तामा पुगेको पहिलो महिनाबाटै विदेशमा भएका युवाहरुलाई नेपाल फर्काउँछु भन्थे रास्वपाका नेताहरुले । तर, आज आफ्नै कुशल र क्षमतावान कार्यकर्तालाई स्वदेशमा राख्न सकेनन् । दुःख लाग्छ ।’

हालसम्म कति जना विदेशबाट फर्काइए भन्दै रास्वपासँग जवाफ माग गरिएको छ । सामाजिक सञ्जालमा भेटिएको छ,‘रवि लामिछानेको खास गरी मन्त्री निवासको व्यवस्थापन हेर्दै आएका युवा दक्षिण कोरिया लागेछन् । ती एक सय जना कति फर्के ?’ रास्वपाले भने अहिले यस विषयमा कुनै प्रतिक्रिया नदिने जनाएको छ । सह–कोषाध्यक्ष बोहोराले जनआस्थासँग कुराकानीको क्रममा भने,‘अहिले यस विषयमा केही बोल्न मिल्दैन् ।’

 

टिप्पणीहरू