काँग्रेस–एमाले समीकरणले चार महिनापछि कोल्टे फेर्ने मेटमणि चौधरीको दाबी

काँग्रेस–एमाले समीकरणले चार महिनापछि कोल्टे फेर्ने मेटमणि चौधरीको दाबी

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि अनुकूल हुने दाबी गरेका छन् । 

प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै उनले काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिए । वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा काँग्रेस सभापति शेरबहादुर देउवालाई दोष नदिन सांसद चौधरीले प्रधानमन्त्रीलाई आग्रह पनि गरे । 

‘आज परिस्थिति जस्तो भएपनि नेपाली काँग्रेसका सभापतिलाई तपाईं कत्ति पनि दोषी नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला’, उनले भने, ‘चार महिनामै परिस्थिति अनुकूल भइ त हाल्छ । एकसय प्रतिशत । आजको मितिले चार महिना गनेरै बसौँ ।’

त्यसक्रममा सांसद चौधरीले लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटनको साक्षी नबस्न देउवालाई पनि सल्लाह दिए । अगाडि रहेका देउवातर्फ हेर्दै उनले भने, ‘म कांग्रेसको सभापतिज्यूलाई पनि हेरिरहेको छु, नेपालको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी, संसद विघटन हुनेगरी साक्षी नबस्नु होला । एकसय प्रतिशत त्यो ठाउँमा पुग्छ । चार महिनापछि आजको प्रधानमन्त्रीको जस्तो हालत नहोस् । छल गर्यो मायाले भन्ने गीत गुन्गुनाउनु नपरोस्, बूढानीलकण्ठको निवासमा बसेर ।’

चौधरीले त्यसो भनिरहँदा देउवा भने ‘त्यस्तो हुँदैन’ भन्ने हाउभाउसहित हाँसिरहेका थिए ।  

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्नसमेत गरे । आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने जिकिर गरेका उनले काँग्रेस–एमालेलाई असंवैधानिक काम नगर्न आग्रह गरेका छन् ।

टिप्पणीहरू