रवि र स्वर्णिमका बिगत छरपष्ट पारेपछि मुकुलमाथि आक्रमणको धम्की
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट आफूमाथि कुटपिटको धम्की आएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी गराउँदै उपसभापति वाग्लेको सचिवालयबाट बारम्बार फोन आएको तर आफूले नउठाएपछि सँगै रहेको भाइको मोबाइलमा धम्की दिइएको बताएका छन् ।
ढकालले आवश्यक सुरक्षा व्यवस्थाको निम्ति इलाका प्रहरी कार्यालयका डीएसपीलाई आग्रह गरेका छन् । ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन’, उनले भनेका छन्, ‘मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
ढकालले हिजै एक टेलिभिजन अन्तर्वार्तामा पार्टी सभापति रवि लामिछाने, उपसभापति वाग्ले, पूर्वमन्त्री तथा नेता शिशिर खनालले भारतीय राजदूतावासमा भएको गोप्य भेटमा नेपाललाई भारतकै राज्य वा भुटानजस्तै बनाइदिन आग्रह गरेको आरोप लगाएका थिए । आफूसमेतको उपस्थितिमा उनीहरुको त्यस्तो आग्रहको पछाडि राजनीतिक स्वार्थ रहेको दाबी गरेका छन् ।
यसबारे जनआस्थाले गत पुस ३ गते ‘रवि लामिछानेका महामन्त्री भारतीय दूतावासमा सुटुक्क’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उनीहरु लैनचौरस्थित भारतीय दूतावासमा भेटघाटका लागि पुगेका थिए । उनीहरुले डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव र भारतीय खुफिया एजेन्सीका नेपाल स्टेशनका प्रतिनिधि अनिल गिरीसँग भेटेकोबारे जनआस्थाले समाचार प्रकाशित गरेको थियो । राजदूत नवीन श्रीवास्तवसँग भेट गर्न खोजे पनि त्यो सम्भव भएको थिएन ।
टिप्पणीहरू