पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई केही थाहा छैन !

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई केही थाहा छैन !

असार १७ गते (सोमबार मध्यराति) कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरे । जसले चलिरहेको सत्ता समीकरणमा तरंग ल्यायो । यसका बाछिटा अहिले संघ हुँदै प्रदेश तहमा देखिँदै गएका छन् । त्यो मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको लिखित सहमतिमा के–के थियो ? बाहिर आइसकेको छैन । तर दुवै पार्टीका नेताहरूले विभिन्न कार्यक्रममा संविधान संशोधनसहित ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउने गरी अघि बढेको बताउदै आएका छन् । र, उनीहरूकै अभिव्यक्तिलाई आधार मान्ने हो भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा संविधान संशोधन सुझाव समिति बनाउने चर्चा छ । 

तर, यता पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने बन्न लागेको नयाँ गठबन्धन र संविधान संशोधनको तानाबानाबारे आफूलाई केही जानकारी नभएको बताएका छन् । आफूले पनि मिडियाका हेडलाइन देखेर अलिअलि मात्र थाहा पाएको उनको भनाई छ । ‘नयाँ बन्ने गठबन्धनले तपाईंको संयोजकत्वमा संविधान संशोधन सुझाव समिति बनाउन लागेको चर्चा छ नि ?’ भन्ने जनआस्थाको जिज्ञासामा उनले भने, ‘हो र ! खै थाहा छैन । मलाई अहिलेसम्म कसैले केही भनेको छैन । दुई–चार वटा मिडियाले हेडलाइन राखेका रहेछन्, मैले पनि त्यहींबाट अलिअलि थाहा पाएँ ।’ श्रेष्ठले कुनै छलफल नै नगरी आफ्नो नामलाई राजनीतिक दलहरूले प्रचारमा ल्याएको पनि बताए । ‘तपाइँको नाम यत्तिकै आएको त ?’ भन्ने प्रश्नमा उनको प्रतिक्रिया छ, ‘त्यो उनीहरूलाई (कांग्रेस र एमाले) नै थाहा होला, मेरो नाम किन लिए, बरु उनीहरूलाई नै सोध्नुपर्‍यो ! मसँग छलफल गरेर गरेको भए त म भनिहाल्थें नि यस्तो यस्तो हो भनेर । मलाई केही थाहै छैन त !’ 

यदि, औपचारिक वार्ता वा जानकारी गराएमा त्यसपछि चाहिँ आफूले निर्णय लिने श्रेष्ठको सोच छ । ‘औपचारिक जानकारी आयो भने त्यतिबेला नै थाहा हुन्छ,’ उनले स्पष्ट पारे, ‘अहिले नै दियो भने वा दिएन भने भन्नेबारे धेरै टिप्पणी गर्दिनँ ।’ श्रेष्ठले पछिल्लो समय विकसित भइरहेको राजनीतिक घटनाक्रमबारे टिभी र पत्रिकाबाट जानकारी लिइरहेको पनि बताए । ‘टिभी हेर्ने, पत्रिका पढ्ने भएपछि घटनाक्रमबारे अलिअलि थाहा त भइहाल्छ तर तपाईंले भनेजस्तो संविधान संशोधन सुझाव समितिबारे चाहिँ साँच्चै केही थाहा छैन,’ उनले थपे । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू