गुरुआमामाथि यति ठूलो गद्दारी

गुरुआमामाथि यति ठूलो गद्दारी
सुन्नुहोस्

नेपालीमा एउटा चर्चित उखान छ, ‘जो चोर, उसैको ठूलो स्वर’ । सो उखान धरानस्थित दिल्ली पब्लिक स्कूल (डिपिएस) मा कार्यरत एक शिक्षकसँग मिल्दोजुल्दो छ । एउटी महिला शिक्षिकासँग पैसा सापटी लिएर वर्षौंसम्म पनि फिर्ता नदिएका शिक्षक राहुल राईले उल्टै धम्काउने गरेको पाइएको छ । 

भारतबाट नेपाल आएर दुःख गरी कमाएको पैसा फिर्ता नदिएपछि शिक्षिका अनुपमा बरुवाले चित्त दुखाएकी छन् । कोरोना महामारीको जटिल अवस्थामा दिएको रकम फिर्ता नपाउँदा उनलाई व्यर्थै सहयोग गरिएछझैं महसुस भएको छ ।

आफूसँगै विद्यालयमा पढाउने साथी भएकाले विश्वास गर्दा उनले दुःख पाएकी छिन् । आफ्नै पैसाका लागि हारगुहार गर्नुपरिरहेको छ । राहुल दम्पत्ती नै टिचर हुन् । श्रीमती सुरेखा राईले पनि डिपिएसमै पढाउँछिन् । कोरोनाको बेला समस्या परेको भन्दै पैसा मागेपछि उनले ५० हजार रूपैयाँ दिइन् । 

उनीसँग राहुलको नाममा काटेको नेपाल एसबिआई बैंक धरान शाखाको चेक पनि छ । सो चेक सन् २०२२ अगष्ट १४ मा काटिएको छ । अनुपमाका अनुसार उनीहरूले एक साताका लागि भनेर पैसा लगेका थिए । जुन दुई वर्ष हुन लागिसक्दा पनि फिर्ता दिएका छैनन् ।

 

दिनभर घाँटी सुकाईसुकाई कराएर कमाएको पैसा फिर्ता नपाउँदा उनलाई समस्या भएको छ । बेरोजगार बसिरहेकी उनी त्यही पैसा दिएपनि केही राहत हुने बताउँछिन् । तर, राई दम्पत्तीले पैसा फिर्ता दिन चासो नदेखाएकोे उनको गुनासो छ  ।  

पैसा फिर्ता माग्दामाग्दै अनुपमा वाक्कदिक्क भइसकेकी छन् । अनुपमा भारतीय हुन् । लामो समय सो विद्यालयमा पढाइन् । तर, पछि तलबको विषयलाई लिएर किचलो भएपछि जागिर छोडेकी हुन् । कोरोनाको समय दिल्लीस्थित आफ्नै घरमा बसेर पढाएकी उनले त्यतिबेलाको आधा मात्र तलब पाएकी थिइन् । 

जागिर छोडे पनि न बाँकी पारिश्रमिक पाइन् न आफ्ना साथीहरूलाई दिएको रकम फिर्ता । उनले भारतबाट समेत राई दम्पत्तीलाई पैसा फिर्ता दिइदिन बारम्बार आग्रह गरिसकेकी छिन् । तर, उनीहरूले वास्तै नगरेको बताइन् । 

यता, राहुलले अनुपमाबाट पैसा सापटी नै नलिएको दाबी गरे । उनको सामान भारत पुर्‍याइदिनका लागि ‘ट्रान्सपोर्टेशन फी’ बापत सो रकम दिएको राहुल बताउँछन् । उनका अनुसार उनी सामान पुर्‍याउन भारत नै गएका थिए । 

अनुपमासँग तपाईंको नाममा काटेको चेक नै छ भन्दा उनी जंगिए । ‘पुलिस केस’ गर्छु भन्दै धम्क्याए । आक्रोशित हुँदै भने, ‘तपाईं एउटा चेकको आधारमा मलाई फोन गर्ने ? तपाईंसँग पैसा सापटी लिएको कुनै प्रमाण छ ? म पुलिस केस गर्छु ।’

यसअघि धरानका एक जना पत्रकारलाई पनि यसैगरी थर्काएका थिए । अर्काको देशमा आएर कमाएको पैसा फिर्ता नदिएकोभन्दा उनले मनपरी गाली गरेका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू