अभिभावकका लागि सन्तान सबथोक, सन्तानको निम्ति उनीहरु नै बोझ
नेपालीमा एउटा चर्चित उखान छ, ‘बाउआमाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि ।’ पछिल्लो समय नेपाली समाजमा उक्त उखानसँग मिल्दोजुल्दो थुप्रै उदाहरण देखिन थालेको छ । सन्तानले आफ्नो जन्म दिने बुवाआमासमेत पाल्न गाह्रो मान्ने गरेका छन् । तर बुवाआमाका लागि ती सन्तान सँधै सबैभन्दा प्यारो हुन्छन् ।
सामान्य भाषामा भन्दा सन्तान अभिभावकको ‘मुटुको टुक्रा’ हुन् । आफ्नो गाँस काटेर आमाबुवाले छोराछोरीको पेट भर्छन् । आफू च्यातिएको लगाएर सन्तानलाई नयाँ लुगा दिलाउँछन् । दुःख गरेर पढाउँछन्, लेखाउँछन्, हुर्काउँछन् । सन्तानलाई आफ्नो खुट्टामा उभिनसक्ने बनाउँछन् । तर, जब त्यो सन्तान कमाउने हुन्छ, तब उसले आफ्नै अभिभावकमाथि ज्यादती गर्छ ।
दुनियाँमा बुवाआमा एक मात्र ती व्यक्ति हुन्, जसले सँधै आफ्नो सन्तानको भलो चिताउँछन् । तर, सन्तानले यो कुरा बुझ्दैनन्, बुझ्न चाहँदैनन् । सन्तानलाई आफ्नो बुवाआमाको कदर हुँदैन । बुवाआमा पाल्ने पालो आउनेबित्तिकै उनीहरु पन्छिने गरेका छन् । कहिल्यै झर्को नमानी पालेको सन्तानले त्यसो गर्दा बुवाआमाको चित्त कति दुख्दो हो ।
सन्तानलाई अभिभावक यतिसम्म बोझ लाग्न थाल्छ कि वृद्धाश्रममा लगेर छोडिदिन्छन् । छोराछोरी हुर्काउन अनेक दुःखकष्ट गरेका बुवाआमाको अन्तिममा सहारा कोही हुँदैन । कि त वृद्धाश्रममा गएर जीवन कटाउनुपर्छ कि त सडकमा । सन्तान हुँदाहुँदै पनि बेसहाराझैं वृद्धाश्रमको आश्रय लिने धेरै छन् । मासिक लाखौं कमाउनेसँग आमाबुवालाई दुई छाक खुवाउने क्षमता देखिँदैन ।
हालै १०२ वर्षीया आमालाई छोराले जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेको घटना सार्वजनिक भएको छ । अंश लिएर छोराले आमालाई रुपन्देहीको सिडियो कार्यालयमा छोडेका हुन् । सिडियो कार्यालयले उनलाई मणिग्रामस्थित मानवसेवा आश्रममा लगेर राखिदिएको छ । तिलोत्तमा नगरपालिका १ की सावित्रा र त्रिलोचन गौतमका पाँच छोरा र चार छोरी छन् । त्रिलोचन र सावित्राले पाँच भाइ छोराहरुलाई अंशबण्डा गरिदिएका थिए ।
श्रीमानको मृत्युपछि साहिँलो छोरा मीनराज गौतमले आमाको अंशसहित स्याहारसुसार र पालनपोषणको सम्पूर्ण जिम्मेवारी लिएका थिए । उनले सबै सम्पत्ति हत्याएर आमालाई सिडियो कार्यालयमा छोडिदिएका हुन् । घुमाउन लैजाने भन्दै एक छोराले आफ्नी आमालाई काठमाडौंको अन्जान ठाउँमा छोडिदिएको घटना पनि यसअघि बाहिरिएको थियो । शहर देखाउने सपना देखाएर आफ्नै कोखबाट जन्मिएको छोराले आमाको बिल्लीबाठ बनाएका हुन् ।
पछि ती वृद्धा शरण माग्दै मानवसेवा आश्रम पुगेकी हुन् । यी त केही उदाहरण मात्र हो । सरकारी सेवामा कार्यरत कर्मचारीहरुले नै आफ्ना अभिभावक वृद्धाश्रममा लगेर छोडेको खबरहरु बेलाबखत बाहिर आइरहेको हुन्छ । अभिभावकलाई बुढ्यौलीले थिचेपछि सन्तानलाई उनीहरु बोझ लाग्न लाग्छ । आफूले मात्र सेवा गर्नुपरेझैं महशुस हुन्छ । विगतमा अभिभावकले आफूलाई गरेको मायाममता, त्याग बिर्सिन्छन् । अभिभावकका लागि काम गर्नुपरेमा आफ्नो समय खेर फाल्नुपरेको ठान्छन् । दुई शब्द मिठो बोल्नुपर्दा उनीहरुलाई झर्को लाग्न थाल्छ । आफ्नो अभिभावकले बोलेको सुन्न चाहँदैनन् ।
अभिभावकबाट छुट्कारा पाउन सके ‘फ्रि’ हुने, आफ्नो हिसाबले हिँड्न पाउने, बिरामी हुँदा पैसा खर्च गर्न नपर्ने र उनीहरुमाथि समय पनि खेर फाल्न नपर्ने सोचेर सन्तानले आफ्नो अभिभावकलाई वृद्धाश्रममा लगेर छोडिदिन्छन् । कतिपय निर्दयी सन्तानले सडकमै छोडिदिन्छन् ।
घरभित्रै हिंसा
अभिभावक ज्युँदो भगवान् हुन् । सन्तानको सफलताको एक मात्र आधार उनीहरु नै हुन् । उनीहरुको सफलताका लागि अभिभावकले हरसम्भव प्रयास गर्छन् । सन्तानका लागि अभिभावकले आफ्नो जिन्दगी व्यतित गरिदिन्छन् । तर, त्यही सन्तानले अभिभावकमाथि हिंसा गरिरहेको लाजमर्दो अवस्था नेपाली समाजमा यदाकदा देखिन थालेको छ ।
केही समयअघि सामाजिक सञ्जालमा छोराबुहारी मिलेर वृद्ध आमालाई कुटेको भिडियो भाइरल भएको थियो । संसार देखाउने आमामाथि गरिएको त्यो व्यवहार निकै मर्मस्पर्शी थियो । आवाज बाहिर नजाओस् भनि मुखमा बुझो लगाएर छोराबुहारीले डाडुपन्युले हिर्काएका थिए ।
वृद्धवृद्धामाथि दुर्व्यवहार प्रायःजसो घरमा हुन्छ । तर, कमैमात्र बाहिर आउँछ । समाजमा बद्नाम हुने डरले वृद्ध आफ्नो पीडा लुकाएरै बस्छन् । जति नै पीडा दिएपनि, गाली गरेपनि बुढेसकालमा आफ्नै सन्तानसँग बसौं भन्ने हरेक वृद्धवृद्धाको चाहना हुन्छ ।
त्यसैले उनीहरु घरभित्रको कुरा बाहिर ल्याउँदैनन् । चुपचाप सहेरै बस्छन् । तर, सन्तान उनीहरुलाई घरबाट निकाल्नका लागि तल्लो हदसम्म गिर्छन् । पिट्छन्, अपशब्दको प्रयोग गर्छन्, भोकभोकै राखिदिन्छन् । आफ्नै निस्किउन् भनेर उनीहरुलाई अपहेलित महशुससमेत गराउँछन् ।
छोराछोरीलाई चाहियो सम्पत्ति, चाहिएन बुवाआमा
सम्पत्तिका लागि बुवाआमालाई पालेजस्तो गर्ने अनि सम्पत्ति लिएपछि घरबाट निकालिदिने क्रम केही समययता ह्वात्तै बढेको छ । सम्पत्ति नपाउञ्जेललाई अभिभावकलाई राम्रो व्यवहार गरेझैं गरिन्छ । सम्पत्ति हात लागेपछि फर्केर पनि हेरिँदैन् । सम्पत्ति चाहिने सन्तानलाई अभिभावक नचाहिनु दुःखको कुरा हो । नेपालको कानुनले अभिभावकको सम्पत्ति लिएर उनीहरुलाई बेवारिसे बनाउनु गैरकानुनी मानेको छ ।
तर, प्रभावकारी रुपमा कानुन कार्यान्वयन हुन नसक्दा त्यस्ता गैरकानुनी र अमानवीय हर्कतमा रोक लाग्नसकेको छैन । ज्येष्ठ नागरिक ऐन, २०६३ ले वृद्धवृद्धाको हक संरक्षण गरेको छ । कानुनले ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भनेको छ । ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्छ ।
सो ऐनको दफा ४ मा ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाहबारे उल्लेख छ । उपदफा (१) मा भनिएको छ, ‘ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जतअनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।’ ज्येष्ठ नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्नेछ ।
त्यस्तै, कसैले ज्येष्ठ नागरिकको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन नहुने भनिएको छ । ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने परिवारको सदस्यको आर्थिक अवस्था कमजोर भएमा अन्य सदस्यले आफैंसँग राखेर पालनपोषण तथा हेरचाहको व्यवस्था मिलाउनुपर्नेछ ।
परिवारका सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा स्थानीय तहमा उजुरी दिन सक्ने व्यवस्था छ । दफा (५) को उपदफा (१) मा लेखिएको छ, ‘आफ्नो टोल छिमेकमा कुनै ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा कारणसहित सम्बन्धित छिमेकीले समेत उजुरी दिन सक्नेछ ।’
वडाध्यक्षले उजुरीमाथि आवश्यक जाँचबुझ गरेर ज्येष्ठ नागरिकलाई हेरचाह तथा पालनपोषणका लागि परिवारको सदस्य, नातेदार वा हकवालाबीच मेलमिलाप गराइदिनुपर्छ । अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा राखेर हेरचाह तथा पालनपोषणको व्यवस्था सरोकारवालाले गर्नुपर्नेछ ।
त्यसैगरी, कसैले ज्येष्ठ नागरिकलाई दुर्व्यवहार वा अपमानजनक व्यवहार गर्न–गराउन पाउँदैन् । ज्येष्ठ नागरिकको नाममा रहेको चलअचल सम्पत्ति लिने, खाने उद्देश्यले वा अन्य प्रयोजनको लागि कुनै किसिमको दबाब, प्रलोभन वा झुक्यानमा पारी सम्पत्ति लिन वा अरुको नाममा राख्न नपाउने ऐनमा स्पष्ट उल्लेख छ ।
यद्यपि, वृद्धवृद्धाको सम्पत्ति खोसेर तिनलाई घरबारविहीन बनाउने क्रम जारी छ । उमेर ढल्किँदै गएपछि सन्तानले हेरचाह नगरिदिँदा वृद्धवृद्धा अभिभावकलाई समस्या भएपछि तत्कालीन महिलामन्त्री कुमार खड्काको पालामा एउटा निर्णय भएको थियो । आफ्नो आम्दानीको १० प्रतिशत रकम बुवाआमाको बैंक खातामा जम्मा गरिदिनुपर्ने बाध्यकारी विधेयक संसदमा दर्ता गरिएको थियो । तर, त्यो बीचमै अलपत्र पर्यो ।
ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार रोक्न हरेक वर्षको जुन १५ मा ‘ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस’ मनाउने गरिएको छ । सरकारले उक्त दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ । तर, वर्षमा एकदिन मात्र ज्येष्ठ नागरिकको नाममा नारा लगाउने प्रवृत्तिका कारण त्यसले खासै प्रभाव पार्न सकेको छैन ।
यकिन तथ्याङ्क छैन : मन्त्रालय
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय कुनैपनि तथ्याङ्क मन्त्रालयमा नभएको जनाएको छ । सरकारले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय र विभाग खारेज गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी तथ्याङ्क संकलन गर्न मन्त्रालयलाई समस्या परेको प्रवक्ता चन्द्रकला पौडेलले बताइन् ।
उनका अनुसार प्रदेश सरकार र स्थानीय तहको समन्वयमा तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ । सम्पूर्ण विवरण संकलन गरेर अब छिट्टै नै प्रकाशित गरिने उनले जानकारी दिइन् । त्यस्तै, सरकारको मातहत रहेको पशुपति वृद्धाश्रममा यसवर्ष वृद्धवृद्धाको संख्या नबढेको उनको भनाइ छ । ‘हामी तथ्याङ्क निकाल्ने क्रममा छौं । तथ्याङ्क प्रकाशित गरेपछि मात्र भन्न सकिन्छ । यसवर्ष पशुपति वृद्धाश्रममा भने वृद्धवृद्धाको संख्या बढेको छैन’, उनले भनिन् ।
टिप्पणीहरू