लुम्बिनीको मुख्यमन्त्रीमा उलटपुलट
नेकपा (एमाले)ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महासचिव शंकर पोखरेलनिकट चेतनारायण आचार्यलाई अघि सार्ने भएको छ । उपाध्यक्ष विष्णु पौडेल निकट लीला गिरीलाई पछि पार्दै चेतनारायणले बाजी मार्ने स्थिति बनेको हो ।
आज बिहानसम्म संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो । उनको पक्षमा सांसदहरुको हस्ताक्षर जुटिसकेको थियो भने नियुक्तिलगत्तै मिडियामा पठाउन स्वकीय सचिवहरुले जीवनीसमेत लेखेर तयार पारिसकेका थिए । तर, एकाएक महासचिव शंकरले अध्यक्ष ओलीलाई भेटेर चेतनारायण नै चाहिन्छ भनेपछि नयाँ परिस्थिति बनेको बताइन्छ ।
एमाले स्रोतका अनुसार यसपटक पनि आफू मुख्यमन्त्री हुन नसके 'तपाईंको पछाडि लागिरहनुको के अर्थ !' भनी गुट छोड्ने चेतनारायणको घुमाउरो धम्कीपछि शंकरले अडान लिएका हुन् । सबैतिरबाट विष्णु पौडेल हावी हुने हो भने 'संधै तपाईंलाई किन साथ दिइरहने ? ' भनेर उनले कडिकडाउ कुरा गरेपछि उनी धर्ना दिन अध्यक्ष तथा प्रधानमन्त्रीकहाँ पुगेका थिए ।
हिजो राति र आज बिहान अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र शंकरबीच लगातार भेट भएको थियो । चुनाव हारेका कारण संघीय मन्त्री हुन नपाएका शंकरले लुम्बिनी चै आफूले नछोड्ने अडान अध्यक्षसामु राखे । त्यसमा ओली सहमत भएपछि दलका नेता लीलालाई रोकेर चेतनारायणलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
एमाले लुम्बिनीमा उपाध्यक्ष विष्णु र महासचिव शंकरको छुट्टा-छुट्टै गुट छ । केन्द्रमा ओली खेमामै रहेर आ-आफ्नो समूह चलाइरहेका यी दुई आफू निकटलाई मुख्यमन्त्री बनाउने दौडमा थिए । तर, अध्यक्ष ओली 'बा' को समेत समर्थन मिलेपछि महासचिवका मान्छे चेतनारायणको पक्षमा माहोल बनेको बताइन्छ ।
टिप्पणीहरू