लुम्बिनीमा चेतनारायणको दावी,दलको नेता हेरेको हेर्यै
लुम्बिनीमा नयाँ मुख्यमन्त्रीको निम्ति नेकपा (एमाले) को तर्फबाट चेतनारायण आचार्यले दाबी गरेका छन् । एमाले संसदीय दलको उपनेतासमेत रहेका आचार्यले प्रदेश प्रमुखको कार्यालय पुगेर ५६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ४४ सांसद चाहिन्छ । आचार्यको हकमा यो बहुमतभन्दा १२ मत बढी हो । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।
उता अन्तिम क्षणमा मुख्यमन्त्रीको अवसर गुमाएका लिला गिरीले भने आफू पक्षका नेताहरुको छुटै भेला बोलाएका छन् । भेलामा गिरीसहित प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, तुल्सी चौधरीलगायत नेताहरु सहभागी छन् ।
मुख्यमन्त्रीमा पक्का देखिएका गिरीलाई आज बिहान अचानक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको हस्तक्षेपपछि आचार्यलाई अघि सारिएको बताइन्छ । आचार्य महासचिव पक्षधर हुन् भने गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् ।
अन्तिम क्षणमा अवसर गुमाएपछि गिरीसहितका नेताहरुले पार्टी महासचिव पोखरेल र कृषिमन्त्री बलराम अधिकारीले चरम गुटबन्दी गरेको आरोप लगाएका छन् । गुटबन्दीलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि साथ दिएको गिरी पक्षका नेताहरुको दाबी छ ।
टिप्पणीहरू