काँग्रेसले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

काँग्रेसले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीको राजीनामा मागेको छ । 

प्रदेशलाई बजेट शून्यतामा पुर्याएको आरोप लगाउँदै कांग्रेस सुदूरपश्चिम संसदीय दलले पद छोड्न भनेको हो । संसदीय दलका नेता कमलबहादुर शाहले आज विज्ञप्ति जारी गर्दै सरकारले आर्थिक प्रणाली तहसनहस पारेको आरोप लगाए । 

‘सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ का लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट वर्षे अधिवेशन चालु रहँदारहँदै बजेटमाथिको छलफल र वैधानिक विकल्पहरुको खोजीसमेत नगरी कामचलाउ सरकारले प्रदेश बजेट शून्यताको अवस्थामा पुर्याएकोप्रति नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, प्राकृतिक विपत्तिमा परेका प्रदेशबासीको उद्धार–राहत पुनःस्थापना र घाइतेको उपचारका लागि आवश्यक छलफल गर्न आह्वान गरिएको प्रदेश सभाको अधिवेशनमा मुख्यमन्त्री अनुपस्थिति भएकोमा काँग्रेसले आपत्ति जनाएको छ । उक्त हर्कत गैरसंवैधानिक, गैरजिम्मेवार, सत्तालिप्सा र प्रदेश प्रमुखको अपमान भएको काँग्रेसको ठहर छ । 

‘यस्तो प्राकृतिक विपत्तिमा परेको प्रदेशबासीलाई उद्धार–राहत पुनःस्थापना र घाइतेको उपचारका लागि प्रदेश सभामा आवश्यक छलफल गर्न आह्वान गरेको प्रदेश सभाको अधिवेशनमा माननीय मुख्यमन्त्री अनुपस्थिति हुनु गैरसंवैधानिक, गैरजिम्मेवार, सत्तालिप्सा र प्रदेश प्रमुखको समेत अपमान भएको संसदीय दलको ठहर छ’, विज्ञप्तिमा भनिएको छ,‘विपत्ति र प्रदेश बजेट शून्यताको अवस्थामा आइपुग्दा कुनै कोणबाट विश्वासको मत प्राप्त गर्न नसक्ने अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दल आग्रह गर्दछ ।’

टिप्पणीहरू