हैजा नियन्त्रणका लागि स्वास्थ्य सजगता जरूरी

हैजा नियन्त्रणका लागि स्वास्थ्य सजगता जरूरी

काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रणका लागि तालिम थालेको छ । महानगरको ११ नम्बर वडा कार्यालयले आज सामाजिक अगुवा, विद्यालयका शिक्षकशिक्षिका, टोल सुधार समिति तथा उपभोक्ता समिति, क्लबका प्रतिनिधिलाई तालिम सञ्चालन गरेको जनाएको छ । 

जनस्वास्थ्य तथा वातावरण संस्था (इन्फो) सँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा पानीका स्रोत दूषित हुनुका कारण, दूषित वस्तुसँग मानिसका सम्बन्ध र स्वच्छताका विषयमा प्रस्तुतीकरण तथा छलफल गरिएको छ ।

कार्यवाहक वडाध्यक्ष दिपेश राउतले बितेका वर्षहरुमा व्यहोर्नुपरेको हैजाको समस्या यो वर्ष नपरोस् भनेर तालिम सञ्चालन गरेको जानकारी दिए । 

बर्खायाममा खानेपानीमा दूषित पानी मिसिँदा हैजासहित पानीजन्य रोग फैलिने जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारीस्वरुप तालिम आयोजना गरिएको उनको भनाइ छ । महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत नली बज्राचार्यका अनुसार हालसम्म हैजाका बिरामी भेटिएका छैनन् । गत वर्ष भने विभिन्न ठाउँमा बिरामी भेटिएका थिए । 

महानगरले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गर्दै पानी तताएर वा शुद्धिकरण गरेर मात्र पिउन सल्लाह दिएको छ । साथै, हैजालगायत पानीजन्य रोगका लक्षण देखापरेमा वा उपचारका विषयमा जानकारी लिनुपरेमा महानगरको ११८० नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू