ओलीले दुई वर्ष नपुग्दै देउवालाई सत्ता बुझाउने

ओलीले दुई वर्ष नपुग्दै देउवालाई सत्ता बुझाउने
सुन्नुहोस्

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपाली काँग्रेससँग भएको आलोपालो सहमति अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरुलाई निर्देशन दिन आयोजित कार्यक्रममा उहाँले दुई वर्ष पुग्नु एक हप्ता अगाडि राजीनामा दिने बताउनुभएको छ । ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साताअघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै द्विविधा हुँदैन !’, ओलीले भन्नुभयो । 

आफू नेतृत्वको सरकार दुई वर्ष ढुक्कले चल्ने बताउनुभएका उहाँले त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दाबी गर्नुभयो । र, सचिवहरुलाई भन्नुभयो, ‘सरकार ढल्ने त के ढलपल पनि हुँदैन, ढुक्कले ठीक काम गर्नुस्!’ 

सरकार ‘एक्सन ओरिन्टेड’ रहेको जनाउँदै ओलीले असफल हुने छुट नभएको बताउनुभयो । ‘यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ, यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन’, उहाँले भन्नुभयो, ‘यो एक्सन ओरिन्टेड सरकार हो, देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो ।’

छलफलमा उपप्रधानमन्त्री, मन्त्री र २१ मन्त्रालयका सचिवहरु सहभागी थिए ।

 

टिप्पणीहरू