राजा आउँदा दिनकै साढे दुई करोड
कतारी राजा शेख तमिम बिन हमादको एकदिने नेपाल भ्रमणमा सरकारी कोषबाट झन्डै साढे २ करोड खर्च भएको छ ।
गत वैशाख ११ गते नेपाल भ्रमणमा आएका कतारी शेखको स्वागत,सवारी, बसाइ व्यवस्थापनलगायतमा दुई करोड ४६ लाख खर्च भएको हो । यसमध्ये अर्थमन्त्रालयले राष्ट्रपतिको कार्यालयलाई एक करोड २९ लाख र परराष्ट्र मन्त्रालयलाई एक करोड १७ लाख रकमान्तर गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा पनि झण्डै साढे दुई करोड खर्च भएको पाइएको छ । स्वीट्जरल्याण्ड र जर्मनको भ्रमणका क्रममा दुई करोड ४३ लाख रकम खर्च भएको हो । उक्त रकम अर्थमन्त्रालयले पराराष्ट्र मन्त्रालयलाई रकमान्तर गरेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ २७ गते भारत भ्रमणमा जाँदा साढे २० लाख खर्च भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन उहाँ एक दिनका लागि दिल्ली पग्नुभएको थियो । सो क्रममा खर्च भएको २० लाख ४० हजार रकम अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको छ ।
त्यस्तै, भारतीय प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचुडको नेपाल भ्रमणका क्रममा करिब ३५ लाख खर्च देखिएको छ । उनी गत बैशाख २२ गते नेपाल आएका थिए । सो क्रममा भएको खर्चवापतको रकम अर्थमन्त्रालयले सर्वोच्च अदालतलाई रकमान्तर गरेको छ । सर्वोच्चका न्यायाधीशलाई गाडी खरिद गर्ने प्रयोजनार्थ 'सवारी शीर्षक'मा थप २२ करोड रकमान्तर गरिएको छ ।
आदिवासी जनजाति आयोगका सदस्य मीनबहादुर श्रेष्ठ र थारु आयोगका सदस्य सुवोधसिंह थारु सम्मेलनको लागि अमेरिका जाँदा ६ लाख ६९ हजार खर्च भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भारत जाँदा २ लाख ५६ हजार खर्च भएको अर्थमन्त्रालयले जनाएको छ ।
त्यसैगरी, गत मार्चमा सभामुख देवराज घिमिरे स्वीजरल्याण्ड जाँदा राज्य कोषको झन्डै पौने करोड खर्च भएको छ । व्यवस्थापिका सङ्घको १४८औँ महासभामा सहभागीता जनाउन सभामुखले जेनेभा भ्रमण गर्दा ६७ लाख ५४ हजार खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू