मन्त्रीसँगै प्रिन्सिपल म्याडम पेरिस जानुभो गुरुलाई छाडेर

मन्त्रीसँगै प्रिन्सिपल म्याडम पेरिस जानुभो गुरुलाई छाडेर

विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबारदेखि शुरु भएको छ । जुलाई २६ देखि अगष्ट ११ सम्म चल्ने ३३ औं संंस्करणको ओलम्पिकमा २०६ राष्ट्रका १० हजार ५ सय खेलाडीले सहभागिता जनाएका छन् । 

एक सय वर्षपछि फ्रान्सले आयोजना गरेको ओलम्पिकमा टेबल टेनिसतर्फ स्यान्टु श्रेष्ठ, जुडोमा मनिता श्रेष्ठ, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, पौडीमा एलेक्स शाह र डुबाना लामा तथा सुटिङ्गमा सुष्मिता नेपालले भाग लिँदै छन् । 

विश्वकै ठूलो खेलकुद प्रतियोगितामध्ये एक ओलम्पिकमा नेपालीले सहभागिता जनाउनु गौरवको विषय हो । अझै उनीहरूले पदक जित्न सके ‘सुनमा सुगन्ध’ हुने थियो ।

तर, यसपटक पनि सरोकारवालाहरू खेलाडीको हौसला बढाउनभन्दा विदेश सयरमा बढी केन्द्रित देखिएका छन् । खेलाडीको दोब्बर बढी पदाधिकारी पेरिस पुगेका छन् । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ओलम्पिकमा सहभागी भएका छन् । 

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सहसचिव पिताम्बर तिमिल्सिना, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ पनि पेरिसमै छन् । आधिकारिक पदाधिकारी सबै पेरिस जाँदा कमिटीमा जानकारी दिनेसमेत कोही छैन । यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अधिकांश पदाधिकारीले ओलम्पिकमा सहभागिता जनाएका छन्् । पत्रकारलाई पनि टोलीमा समावेश गराइएको छ । 

मन्त्रीसँगै प्रिन्सिपल पनि पेरिसमा 

पदभार ग्रहण गरेको केही दिन बित्न नपाउँदै खेलकुदमन्त्री चौधरीद्वारा पदको दुरूपयोग शुरु भइसकेको छ । उनले आफ्नो स्कूलकी प्रिन्सिपललाई पेरिस लिएर गएको खुलेको छ । ललितपुरको कुपण्डोलस्थित नाइटिंगेल इन्टरनेशनल सेकेण्डरी स्कूलकी प्रिन्सिपल रञ्जना प्रधान  मन्त्रीसँगै पेरिस गएकी छन् । पेरिसमा उनले मन्त्रीसँग थुप्रै तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । स्कूलको प्रिन्सिपल ओलम्पिकमा किन र कसरी गइन् ? भनेर खोजीनीति शुरु भएको छ ।

खेलकुदमन्त्री चौधरी नाइटिंगेल स्कूलका संस्थापक अध्यक्ष हुन् । मन्त्रीनिकट भएकैले ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएकी उनको खर्चको विषयले चर्चा पाएको छ । यता, मन्त्रालयले भने प्रधान गएकोबारे कुनै जानकारी नभएको जनाएको छ । मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीको भ्रमणलाई मात्र स्वीकृति दिएको मन्त्रालयका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । 

मन्त्रीले एक जना गेष्ट पनि आफैंसँग लैजाने भनी जानकारी गराएको तर पात्रको नाम नखुलाएको उनको भनाइ छ । ‘मन्त्रिपरिषद्को बैठकले मन्त्रीज्यूको पेरिस भ्रमणलाई मात्र स्वीकृति दिएको हो । उहाँले आफूसँग एक जना गेष्ट पनि लैजान्छु भन्नुभएको थियो । तर, गेष्ट को हुनुहुन्छ भन्नेचाहिँ थाहा भएन । मन्त्रीज्यूको हिजोसम्म भ्रमण स्वीकृति भएको हो । आज आउनुहुन्छ होला’, उनले भने । मन्त्रालयले मन्त्री, प्रशिक्षक र खेलाडीबाहेक अन्य कसैको पनि खर्च नव्यहोर्ने न्यौपाने बताउँछन् । भन्छन्, ‘अन्य ओलम्पिक कमिटीमार्फत पनि जानुभएको हुन सक्छ । तर, मन्त्रालयले मन्त्री, खेलाडी र प्रशिक्षकबाहेक अन्य कसैको खर्च व्यहोर्दैन ।’ 

को–को गए यकिन छैनः राखेप

राखेपले कति जना पेरिस गएको भन्ने यकिन तथ्याङ्क नभएको बताएको छ । कमिटीका पदाधिकारीहरू पेरिसबाट फर्किसकेपछि मात्र को–को गए थाहा हुने सूचना अधिकारी खुशराज दाहालले बताए । उनका अनुसार निम्तो पाएका जतिले ओलम्पिकमा सहभागिता जनाउन पाउँछन् । निम्तोका लागि कमिटीमार्फत प्रक्रिया पुरा गर्नुपर्ने उनको भनाइ छ । कमिटीले ओलम्पिकमा सहभागिता जनाउन इच्छुकका निम्ति निम्तो मगाइदिने दाहाल बताउँछन् । त्यसरी जानेमा पनि कतिपयले आफैंले खर्च व्यहोर्ने त कतिपयको सरकारले व्यहोर्ने उनको भनाइ छ । 

बाहिरका अटाए, प्रशिक्षक अटाएनन्

ओलम्पिक अन्तर्राष्ट्रिय खेल महासंग्राम हो । कुनै पनि मुलुक खेलकुदमा कतिसम्म विकसित छ ? यसको लेखाजोखा ओलम्पिकमा हुन्छ । ओलम्पिक खेलाडीहरूका लागि सबैभन्दा ठूलो मञ्च हो । ओलम्पिकमा प्रतिस्पर्धा गर्ने हरेक खेलाडीको सपना हुन्छ । तर, त्यहाँ नेपालको उपलब्धि खासै सम्झनालायक छैन । यतिसम्म लापरवाही कि नेपाली टोली प्रशिक्षकबिनै पेरिस पुगेको छ । ब्याडमिन्टन खेलका प्रशिक्षक पेरिसमा छैनन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू