नेकपा एसको केन्द्रीय कमिटी ३४४ सदस्यीय
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
महाधिवेशनबाट चुनिएका ९३ जना केन्द्रीय सदस्यमा २५१ जना थप्दै आज बसेको केन्द्रीय कमिटीको बैठकले ३४४ जनाको नाम घोषणा गरेको हो । पार्टी मुख्यालय आलोकनगरमा बसेको बैठकले केन्द्रीय सदस्यको संख्या बढाएर ३४४ पुर्याउने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य निर्वाचित भएका थिए । बाँकी केन्द्रीय सदस्यका लागि आकांक्षी अत्याधिक भएपछि महाधिवेशन सम्पन्न भएको लामो समयसम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन ।
अस्ति बसेको सचिवालय बैठकले यसबारे गृहकार्य गरी प्रस्ताव पेश गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदलको प्रस्ताव अनुसार आज केन्द्रीय कमिटीको टुंगो लागेको हो ।
आज चयन भएका केन्द्रीय सदस्यहरुको शपथग्रहण केही दिनभित्रै हुने सो पार्टीले जनाएको छ । केन्द्रीय सदस्यको शपथग्रहणपछि पदाधिकारी चयन हुने खतिवडाले जानकारी दिए ।
टिप्पणीहरू