सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा शाह दोहोरिँदै

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा शाह दोहोरिँदै

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् । नेकपा एमालेको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित उनले आज दिउँसो दावी प्रस्तुत गर्न लागेका हुन् । 

दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर २९ सांसदको हस्ताक्षरसहित दावी पेश गर्न लागेको कांग्रेस सांसद पदमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अहिले दुवै पार्टीका नेताहरु भेला भएर लिखित हस्ताक्षर र पत्र तयार पार्ने काम भइरहेको छ । 

‘दुवै दलका सांसदहरु भेला भएका छौ, लिखित पत्र तयार पार्ने काम भइरहेको छ, एक/दुई बजेतिर प्रदेश प्रमुखकहाँ जान्छौ’, उनले भने । 

गत शुक्रबार मुख्यमन्त्री दीर्घ साेडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । 

५३ सदस्यीय प्रदेश सभामा बहुमतको लागि २७ सांंसद आवश्यक पर्छ । यहाँ कांग्रेस १८ र एमालेका ११ सांसद मिल्दा स्पष्ट बहुमत पुग्ने भएकाले साना दललाई सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छैन । यद्यपि, नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा लैजाने तयारी भइरहेको बुझिएको छ ।
 

टिप्पणीहरू