खेलाडी र पदाधिकारीसँग भन्दा क्रिकेटका कुरा कलाकारसँग धेरै
अभिनेत्री मिरुना मगरलाई अस्ति दिउँसो एउटा ल्याण्ड–लाइन नम्बरबाट फोन आयो । तर उनी चलचित्रको वर्कशपमा भएकाले फोन उठाउन सकिनन् । हिजो दिउँसो पुुनः सोही नम्बरबाट फोन आएपछि उठाउँदै ‘हेल्लो !’ भनिन् ।
जवाफ आयो, ‘म प्रधानमन्त्री निवास बालुवाटारबाट, भोलि बिहान प्रधानमन्त्रीज्यूले भेट्न खोज्नु भएको छ, तपार्इं आइदिनुपर्यो !’ त्यसपछि मिरुनाको मनमा प्रश्न उठ्यो : अचानक प्रधानमन्त्रीज्यूले किन बोलाउनु भएको होला ?
उनले तत्काल सोधिन्, ‘किन होला ? केही विषय छ कि ?’
‘प्रधानमन्त्रीज्यूले कलाकारहरसँग क्रिकेटको बारेमा सामान्य छलफल गर्ने सोच्नु भएको छ, त्यसैले !’, उताबाट जवाफ आयो । मिरुनाले बालुवाटारमा उपस्थित हुने बताउँदै फोन राखिन् ।
०००
आज बिहान बालुवाटार पुग्नुअघि अभिनेत्री केकी अधिकारी, नीति शाह, रचना रिमाल, बद्रि पंगेनी, प्रकाश सपुतलगायत एक दर्जन कलाकार पहिल्यै त्यहाँ पुगिसकेका थिए । केही कलाकार आउने क्रममा थिए । राउन्ड टेबलमा छलफल सुरु भयो ।
प्रधानमन्त्रीको बायाँतिर कलाकार बसेका थिए भने दायाँतिर नेपाल क्रिकेट संघका पदाधिकारी र खेलाडी थिए । सुरुमा प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई आफू नेतृत्वको सरकारले तीन सय दिनभित्र सुविधासम्मपन्न निर्माण गर्ने लक्ष्य लिएको जानकारी गराउनुभयो । त्यसपछि सुरु भयो छलफल ।
प्रधानमन्त्रीले तीन सय दिनको योजना सुनाउनुअघि मिरुनालाई यसबारे केही थाहा थिएन । हुन त, प्रधानमन्त्री ओलीले गत असार ३१ गते पदभार सम्हालेको दिन नै यो निर्णय गर्नुभएको बताइन्छ । कलाकारलाई खेलकुद अपडेट नहुनु कुनै अचम्म पनि भएन ।
प्रधानमन्त्रीले जानकारी गराएपछि मिरुनालाई पनि बोल्नैपर्ने बाध्यता आइपर्यो । उनले रंगशाला निर्माणको काम प्राविधिक पक्षसँग जोडिएको र त्यसबारे आफूलाई खासै थाहा नभएको बताउँदै कुरालाई बिट मार्नतिर लागिन् ।
‘उहाँ (प्रधानमन्त्री)को रंगशाला तीन सय दिनमा बनाउने, यस्तै सम्बन्धी योजना रहेछ, कसरी बनाउने भनेर सल्लाह सुझाव माग्न बोलाउनु भएको रहेछ’, मिरूनाले जनआस्थासँग सुनाइन्, ‘त्यसबारे मलाई खासै थाहा थिएन, मैले त त्यही बनेको राम्रो हो, बन्यो भने दर्शकलाई सजिलो हुन्छ भनेँ ।’
मिरुनाले प्रधानमन्त्रीसँग बरु नेपाली पाठ्यक्रममा खेलकुदको विषयलाई प्राथमिकता दिन सल्लाह दिएको बताइन् । उनले बेलायतको पाठ्यक्रमको उदाहरण दिँदै भनिन्, ‘बाहिर विद्यालय तहमा कुनै विद्यार्थी खेलकुद, जस्तैः क्रिकेट, भलिबल, फूटबलमा राम्रो छ भने त्यो विद्यार्थीलाई त्यसैमा अंक दिएर स्तरोन्नती गरिन्छ । मानौं, उ म्याथमा फेल भएको छ, तर क्रिकेटमा एकदमै राम्रो छ, त्यस्तो अवस्थामा त्यहाँ खेलाडीलाई निरुत्साहन नहोस् भनेर क्रिकेटको अंकलाई म्याथमा स्थान्तरण गरेर पास गराइन्छ । यसले उसको क्लास पनि बढ्दै जाने भयो, उसको रुचीको विषयमा पनि दख्खल बढ्दै जाने भयो । तर यहाँ त्यस्तो छैन, खेलकुदलाई अतिरिक्ति बनाइएको छ । जबकि अनिवार्य बनाउनुपर्ने हो, प्रधानमन्त्रीज्यूलाई यसबारे सोचिदिनुहुन म अनुरोध गर्दछु ।’
मिरूनाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले पनि जवाफमा ‘शिक्षाविद्हरुसँग यसबारे छलफल गर्ने’ प्रतिक्रिया दिनुभएको थियो ।
आज प्रधानमन्त्रीलेले ‘रंगशाला कसरी बनाउने ?’ भन्ने विषयमा छलफल गर्न खोज्नु भएको थियो । तर कसैले ठोस तर्क राख्न सकेनन् । गायक बद्रि पंगेनीले भने जुन सरकार आए पनि रंगशाला बनाउने विषय उठाउने, तर कहिल्यै पूरा नहुने गरेको दृष्टान्त सुनाए । उपस्थित कलाकारमध्ये पंगेनीले नै प्रधानमन्त्रीसँग सबैभन्दा बढी दोहोरो वार्ता गरेको मिरुनाले जानकारी दिइन् ।
गायक पंगेनीको भनाई उद्धृत गर्दै उनले सुनाइन्, ‘विस्तारै नेपाली क्रिकेटले प्रगति गरिरहेको छ । त्यसलाई अझै माथि लैजान सरकारले हेनुपर्यो । हरेक सरकारले रंगशालाको विषय उठाएकै हुन्छ, तर अहिलेसम्म हालत कस्तो छ, हामीले देखेकै छौं कीर्तिपुरमा ।’
राउन्ड टेबलमा क्यानका सचिव पारस खड्कासहित अन्य पदाधिकारी र खेलाडीहरु पनि थिए । सचिव खड्काले प्रधानमन्त्रीले क्रिकेटप्रति देखाएको चासोप्रति आभार प्रकट गरे । भेटमा प्रधानमन्त्री ओली क्यानका पदाधिकारी र खेलाडीहरुसँग भन्दा कलाकारसँगको कुराकानीमा बढी केन्द्रित हुनुभएको बताइन्छ ।
भिडियाे स्राेत : प्रधानमन्त्रीकाे फेसबुक पेज ।
टिप्पणीहरू