बंगलादेशी घटनामा बालुवाटार बैठक,बोर्डर टाइट

बंगलादेशी घटनामा बालुवाटार बैठक,बोर्डर टाइट

बंगलादेशको राजनीतिक अस्थिरतालाई लिएर सीमा जोडिएका मुलुकले चासो राख्न थालेका छन् । राजीनामाको सन्देश सेनामार्फत पठाएर प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली पुगेकी छन् । उनी त्यतैबाट लण्डन या बेलारुस जाने तयारी छ । भारतसङ्ग बङ्ग्लादेशको सुपुर्दगी सन्धि भएका कारण कुनै पनि बेला समातेर कानुनी प्रक्रियाका निम्ति बुझाइनसक्ने डरका कारण उनी लामो समयसम्म भारत बस्न नचाहेकी हुन् ।

यता,नेपाल सरकारले त्यहाँको राजनीतिक घटनाक्रमलाई सुक्ष्म ढंगले विश्लेषण गर्दै अघि बढ्ने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको अध्यक्षतामा बसेको गृहमन्त्री,गृहसचिव,सबै सुरक्षा निकायका प्रमुखहरुको बैठकले भारतसँग जोडिएका सबै नाकामा कडाई गर्न निर्देशन दिएको छ ।

सेनाले सत्ता सञ्चालन गर्ने सम्भावना भएकाले बङ्गलादेशमा राजनीतिक अस्थिरता बढ्ने बैठकको निश्कर्ष छ । बैठकमा सहभागी प्रधानमन्त्रीको सचिवालयका एक जनाले बताएअनुसार, ‘उताको राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ,त्यो हेर्दै अघि बढ्ने भन्ने छ । सरकार कसरी बन्छ त्यसमा पनि धेरै कुरा निर्भर रहन्छ ।’

सेनाले राजनीतिक बागडोर सम्हालेमा शरणार्थीको रुपमा बंगलादेशीहरु देशबाट  बाहिरिने सम्भावना प्रवल छ । यसअघि रोहिंग्या शरणार्थीको समस्या यथावत छ । त्यसैले अस्थिरता बढेमा शरणार्थी ओइरिनसक्ने सम्भावनालाई नजिकबाट नियाल्ने सुरक्षा अधिकारीहरुको भनाई छ ।

बंगलादेशको १७ करोड जनसंख्यामध्ये डेढ करोड बढी हिन्दु छन् । अधिकांश मुसलमान रहेको मुलुकमा हिजो हिन्दु मन्दिरमा आक्रमण भएपछि घटनाक्रमले नयाँ मोड लिनसक्ने सम्भावना पनि उत्तिकै छ । 

साढे तीन दशकअघि भुटानी शरणार्थी ओइरिएझैँ बंगलादेशी शरणार्थी पनि नेपाल छिर्नसक्ने आकलन छ । भारतले पनि हिजोदेखि बंगलादेशसँगको सीमानाका बन्द गरेको छ । रेलसेवा स्थगित गरिएको छ  ।

गृह मन्त्रालयले हिजो छोटो समयको तयारीमा राखेको बैठकले साँझ उक्त निर्णय गरेको हो ।

टिप्पणीहरू