प्रधामन्त्रीलाई विदेश भाग्न बाध्य बनाएका बंगलादेशी यी विद्यार्थी नेता
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत जुन २१ गते भारत भ्रमणमा गएकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागतमा रेड कार्पेट बिछ्यादिए ।
४६ दिनपछि हिजो हसिना फेरि भारत पुगेकी छन् । तर उनका लागि अघिल्लो पटकजस्तो स्वागत भएन, जुन सम्भव पनि थिएन । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ज्यान जोगाउन उनी भारतको शरणमा पुगेकी हुन् ।
बलियो राजनीतिक विरासत र १५ वर्षदेखि लगातार सरकारको नेतृत्व गर्दै आएकी शक्तिशाली नेतृ हसिनालाई पछिल्लो विद्यार्थी आन्दोलनले मुलुक छाड्न बाध्य बनाइदिएको छ । उक्त विद्यार्थी आन्दोलनको नेतृत्वबारे यतिखेर व्यापक चर्चा भइरहेको छ ।
बंगलादेशको पछिल्लो आन्दोलनमा करिब साढे चार लाख विद्यार्थी होमिए । उनीहरुको नेतृत्व मुख्य तीन विद्यार्थी नेताले गरेका हुन् । तीमध्येका एक हुन् नाहिद इस्लाम जो ढाका युनिभर्सिटीका विद्यार्थी हुन् । उनी स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रीमिनेशन नामक विद्यार्थी संगठनका संयोजक हुन् । उनले नै सुरुवाती दिनदेखि आरक्षण कोटाविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।
सोही क्रममा जुलाइ २० गते राति पक्राउ गरेपछि प्रहरीले उनलाई कुटपिट गरेर पुलमुनि छाडिदिएको थियो । त्यसको २४ घण्टापछि उनी फेला परे । अहिले पनि घाइते उनी आन्दोलनमा सक्रिय सहभागी भए । अस्ति आइतबार भनेका थिए, ‘हामीले हाम्रो हकको लागि लड्दा लाठी उठायौं । यसक्रममा हाम्रा सयौँ साथीले ज्यान गुमाएका छन् । प्रधानमन्त्री शेख हसिना यो देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् ।’
विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने अर्का नेता हुन्, आसिफ महमुद । उनी पनि ढाका युनिभर्सिटीमा ल्यान्ग्वेज स्टडीजका विद्यार्थी हुन् । विद्यार्थी आन्दोलनको सुरुवाती दिनदेखि उनी पनि नेतृत्वमा छन् । जुलाई २६ मा पक्राउ परेका उनलाई कारागारमा चरम यातना दिइएको भिडियो समाजिक सञ्जालमा समेत भाइरल भएको छ । दुई दिनपछि अन्य समर्थकहरुले कारागारमै पुगेर छुटाएपछि आन्दोलनमा निरन्तर सक्रिय भए ।
अर्का विद्यार्थी नेता हुन्, अबु बकर मजुमदार । उनी ढाका युनिभर्सिटीमा भूगोलका विद्यार्थी हुन् । जुन ५ गतेदेखि आन्दोलनमा जोडिएका उनको वैचारिक र वाक कला उत्कृष्ट भएकाले आन्दोलनको सफल नेतृत्व गरेको बताइन्छ । जुलाई १९ गते पक्राउ परेका उनको दुई दिनसम्म कुनै अत्तोपत्तो भएन ।
तेस्रो दिन सडक किनारामा उनी घाइते अवस्थामा भेटिए । त्यसपछि धानमण्डीस्थित गोनाशयस्थया नगर अस्पतालमा उपचार गरियो । जुलाई २६ मा दोश्रो पटक पक्राउ परे । र, गत शुक्रबार रिहा भएका हुन् ।
टिप्पणीहरू