ओलीले भने– भीम रावलको चाँडै टुंगो लाग्छ

ओलीले भने– भीम रावलको चाँडै टुंगो लाग्छ

गत साता जिम्मेवारी बाँडफाँडका लागि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पूर्वउपाध्यक्ष भीमबहादुर रावलबारे अब छिट्टै टुंगो लाग्ने बताएका छन् । सिंहदरबार नजिक बसेरा होटलमा सम्पन्न बैठकमा रावलका फरक क्रियाकलापले आफूहरूलाई काम गर्न गाह्रो हुने कुरा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले बताएपछि ओलीको त्यस्तो जवाफ आएको चर्चा अहिले च्यासलमा व्याप्त छ ।

रावलले काठमाडौँदेखि पश्चिम अछामसम्म विभिन्न भेटघाट गरिरहेका छन् । एमाले सचिव पद्मा अर्यालले पनि ऋषि धमलासँगको कुराकानीमा ओलीकै जस्तो भनाइ राखेकी छन् ।

अर्कोतिर भीमबहादुर रावलले एमाले छोडे पनि एमाले नछोड्ने भन्दै रावलसित दूरी बनाएर बसेका झपट रावलको जिम्मेवारीबारे पनि चर्चा हुन थालेको छ । देशभर जो जहाँ राजकीय क्षेत्रमा लडेको हो त्यहीँ केन्द्रीय सदस्य तहकोलाई इञ्चार्ज तोक्ने भनिएको थियो तर रावललाई कैलाली २ मा इञ्चार्ज नदिएर १ मा पठाइएको छ । उनले अघिल्ला दुई चुनाव कैलाली २ बाटै लडेका थिए ।

अहिले रावललाई सम्बन्धित क्षेत्रमा इञ्चार्ज नबनाइएको भन्दै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले आक्रोश पोखेका छन् । एमाले कार्यकर्ता एकिन्द्र कुँवरले रावलसित खड्कप्रसाद ओली ग्यांग एण्ड कम्पनी पनि त्रसित रहेछ । शेख हसिनाको जस्तो अवस्था नहोस् भन्ने लेखेका छन् ।

टिप्पणीहरू