विश्वसामु मुलुक चिनाउँदै हिँडेकी खेलाडी सरकारी उपेक्षामा

विश्वसामु मुलुक चिनाउँदै हिँडेकी खेलाडी सरकारी उपेक्षामा

मोरङको सुन्दरहरैँचा नगरपालिकाकी दिपा विष्टले तीनपटक ‘स्ट्रेन्थ लिफ्टिङ्ग’ खेलको विश्वस्तरीय प्रतियोगितामा गोल्डमेडल जितिसकेकी छन् । गत जुलाई १५ देखि १९ सम्म काजखस्तानमा सम्पन्न एघारौं ‘स्ट्रेन्थ लिफटिङ्ग’ विश्व प्रतियोगितामा उनले महिलातर्फ ९५ केजी तौल उठाएर २० मुलुकका ४० खेलाडीलाई हराउँदै विश्व च्याम्पियनको उपाधि हात पारेकी हुन् ।

सोही प्रतियोगितामा उनले खुल्लातर्फ ८० केजी तौल उठाएर प्रथम स्थान हासिल गरिन् । तीनपटक राष्ट्रिय च्याम्पियन बनिसकेकी उनले किर्जिकस्तान र भारतको हैदराबादमा सम्पन्न विश्व प्रतिस्पर्धामा पनि गोल्डमेडल जितेकी थिइन् । पटकपटक विश्वसामुन्ने नेपाललाई चिनाइसकेकी उनी नेपाल सरकारबाट भने उपेक्षामा परेको बताउँछिन् ।

तौल घटाउन जिमखाना गएकी दिपा अन्तर्राष्ट्रिय खेलाडी

दिपा अहिले २८ वर्षकी भइन् । १९ वर्षको हुँदा उनको शरीरको तौल ९० केजी पुगेको थियो । तौल घटाउन आफ्नै घरनजिकै विराटचोकमा खुलेको जिमखानामा व्यायाम गर्न जान थालिन् । जिममा आफ्नो तौल मात्र घटाइनन्, बढीभन्दा बढी तौल पनि उचाल्न थालिन् । २०१८ मा वैदेशिक रोजगारीका लागि पोर्चुगल जाने भन्दै काठमाडौं आइन् । 

काठमाडौंमा पनि उनले जिमलाई निरन्तरता दिइन् । कालिमाटीस्थित डिभाइन फिजिकल फिटनेस सेन्टरमा नियमित जिम गर्न थालिन् । त्यहाँपनि उनले अरुभन्दा बढी तौल उठाइन् । अन्यले ‘के विधि मरिहत्ते गरेको ?’ भन्ने गर्दथे । तर, जिमखानाका गुरु राजेश शाहीले दिपालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन हौस्याए ।

 

त्यसपछि उनले ‘स्ट्रेन्थ लिफटिङ्ग’ प्रतियोगितामा भाग लिइन् । र, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म सफलता मिल्न थाल्यो । सन् २०२२ मा नेपालको सबैभन्दा ठूलो धर्मश्री बडिबिल्डिङ्ग प्रतियोगिताको प्रतिस्पर्धी दिपा ‘स्ट्रेन्थ लिफटिङ्ग’ को राष्ट्रिय प्रशिक्षक बनिन् । 

मुलुकमा ‘स्ट्रेन्थ लिफटिङ्ग’ को राम्रो सम्भावना छ । खेलको विकासका लागि राष्ट्रियस्तरमा ‘स्ट्रेन्थ लिफटिङ्ग फेडेरेसन’ स्थापना भएको छ । पश्चिम नेपालगञ्ज र कर्णालीमा यो खेल निकै फस्टाएको छ । पूर्व कोशीतिर भर्खरै जिल्लास्तरमा समितिहरु गठन हुँदैछन् । तर, यो खेल राष्ट्रिय खेलकुद परिषद्मा आधिकारिक रुपमा दर्ता हुन सकेको छैन् । जसका कारण विश्वस्तरमा सम्भावना भएर पनि यो खेलको विकासमा सरकारी स्तरबाट पहल हुन नसकेको हो । 

खेलमा महिला अब्बल 

दिपाका अनुसार पुरुष मात्र नभएर महिलाले समेत ‘स्ट्रेन्थ लिफटिङ्ग’ मा रुची राख्ने गरेका छन् । गृहिणी महिलाहरुले ‘स्ट्रेन्थ लिफटिङ्ग’ मा राम्रो दख्खल राख्न थालेका छन् । काजखस्तानमा सम्पन्न विश्व च्याम्पियन प्रतियोगितामा नेपालकी ३७ वर्षीया महिलाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । दिपा भन्छिन्,‘नेपाली महिलाहरु यस खेलमा अन्यभन्दा कम छैनन् । प्रोत्साहन पाए उनीहरुले थप राम्रो प्रदर्शन गर्न सक्छन् ।’

विदेशमा प्रोत्साहन, स्वदेशमा बेवास्ता

छिमेकी भारतलगायत विश्वका अन्य देशमा ‘स्ट्रेन्थ लिफटिङ्ग’ का खेलाडीहरुलाई सरकारले उच्चस्तरीय तालिम दिने गरेको छ । उनीहरुका लागि प्रायोजक खोजिदिनेदेखि जागिरसमेत सरकारले नै दिलाउँछ । प्रतियोगिता आयोजनाको लागि प्रायोजकहरु सहज भेटिन्टन् । तर, हाम्रो मुलुकमा यो खेलका लागि सरकारीस्तरबाट अझैसम्म कुनै प्रोत्साहन नभएकोमा उनको गुनासो छ ।

 

विश्वस्तरको प्रतिस्पर्धामा भाग लिने खेलाडीहरुले निजी जिमखानामा अभ्यास गर्नुपर्ने र आफ्नै खर्चले पौष्टिक आहार खानुपर्ने बाध्यता छ । पटकपटक विश्वस्तरको पदक जितेर ल्याउँदा पनि संघ र प्रदेश सरकारले खेलाडीहरुलाई वास्ता नगरेको उनले बताइन् । कजाखस्तानबाट विश्व च्याम्पियन बनेर फर्किएपछि दिपा कप र मेडल बोकेर कोशी प्रदेशका मुख्यमन्त्री भेट्न पुगेकी थिइन् । 

तर, उनले आश्वासन मात्र पाइन् । ‘सुन्दरहरैँचा नगरपालिकाले मलाई एक लाख रुपैयाँ दिएर कदर गर्यो । कर्णाली प्रदेश सरकारले यो खेल खेल्न जाने खेलाडीलाई जनही दुई लाख दिएको रहेछ । तर कोशी प्रदेशमा विश्व च्याम्पियन बनिसक्दा पनि कुनै वास्ता गरिएन ’,उनले गुनासो पोखिन् । ‘स्ट्रेन्थ लिफटिङ्ग’ का लागि मुलुकमा आवश्यक पूर्वाधार छैन । नीति तथा योजनाहरु छैनन् । तीन तहको सरकारले खेलको विकासमा चासो दिनुपर्नेमा दिपाको जोड छ । 

खेल विकासका लागि हरेक प्रदेशमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने, जिल्लास्तरदेखिको प्रतियोगिताको आयोजना गर्नुपर्ने, सरकारले बजेट दिनुपर्ने, प्रशिक्षक र खेलाडीहरुलाई संरक्षण गर्ने प्रायोजकहरु खोज्नुपर्ने उनको अनुभव र सुझाव छ ।

टिप्पणीहरू