प्रधानमन्त्रीले थुन्न खोजेको आरोपसहित दुर्गा प्रसाईंको हारगुहार
नेकपा एमाले छाडेर राजावादी अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जेल हाल्ने तयारी गरिरहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री पदको दुरुपयोग गर्दै पूर्वाग्रहपूर्ण ढंगले आफूलाई पक्रेर थुन्न लागिएको उनले बताएका हुन् । ओलीलाई हजुरबा भनेर बोलाउने गरेका प्रसाईंले फेसबुकमा लेखेका छन्– मेरा हजुरबुबा केपी शर्मा ओली तपाईंले देशको मुखिया प्रधानमन्त्री पदको दुरुपयोग गरेर जनतामारा कु–कर्मलाई लुकाउन बिरोधी सिध्याउने खेलमा दुर्गा प्रसाईंलाई थुन्ने षड्यन्त्र रचिरहनु भएको छ ।
गृहमन्त्री रमेश लेखक र आइजीपी वसन्तबहादुर कुँवरलाई समेत थाहा नदिई अपहरण शैलीमा आफूलाई समात्ने योजनाको तानाबाना बुन्न प्रधानमन्त्री ओलीले प्रहरी खटाएको उनको आरोप छ । ‘प्रहरी नामका बर्दिधारी एमाले बढुवा खान देशभक्त बिचारको चिर हरण गर्न उद्दत छन् भन्दा बडो आश्चर्य लागेको छ,’ प्रसाईंले लेखेका छन् ।
आफूलाई थुन्न चुनौती दिँदै उनले ओलीको तस्कर पोस्ने शासन जनताले ढालेरै छोड्ने चेतावनीसमेत दिए । दुर्गा प्रसाईं एकजना जेल परे पनि घर–घरबाट ’दुर्गा’ उठ्ने दिन टाढा नरहेको जनाउँदै उनले त्यो परिस्थितिको ओलीले सामना गर्न नसक्ने बताएका छन् ।
प्रसाईंले हजुरबुबा ओलीलाई माडवारीको पार्टनरको संज्ञा दिँदै बंगलादेशमा शेख हसिना लखेटिएजस्तै स्थिति भोग्नुपर्ने दाबी गरेका छन् । त्यो दिन निकट रहेको उनको भनाई छ ।
टिप्पणीहरू