पालिका शोकमा, मेयरसाप योगमा

पालिका शोकमा, मेयरसाप योगमा

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका बाढीपहिरोबाट नागरिकको मृत्यु तथा बेपत्ता भएर शोकमा भए पनि नगरप्रमुख रवि केसी भने भारततिर भ्रमण सँगसँगैै योग ध्यानमा व्यस्त छन् । उनी भारत गएपछि पालिकामार्फत गर्नुपर्नेे विपद् व्यवस्थापनको कामसमेत प्रभावकारी बन्न सकेको छैन । 

केसी हरिद्वारस्थित पतञ्जली योग पीठमा ध्यानतिरै व्यस्त छन् । सँगै पूर्वनगरप्रमुख गोर्खबहादुर केसी सन्देश पनि छन् । केसी माओवादीबाट निर्वाचित मेयर हुन् । नगरपालिकामा बाढीपहिरोबाट चार जना नागरिकको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता र घाइते भइरहेको अवस्थामा नगर प्रमुखलगायतका व्यक्तिहरूको भारत घुमघामप्रति स्थानीयहरूले चर्को आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सन्तोष केसी भन्छन्, ‘पालिकाका नागरिक कस्तो पीडादायी अवस्थामा छन्, बाढी तथा भूकम्प पीडितहरूको राहत उद्धारमा लाग्नुपर्ने बेला के समस्या आइलाग्यो, भारत भ्रमण गर्ने’ उनले लेखेका छन् ।

आठबिसकोटमा बाढीपहिरोबाट विभिन्न ठाउँमा गरी चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै, आधा दर्जन बढी नागरिक घाइते भएर उपचाररत हुनका साथै २ सय ५० घरधुरी पहिरोको जोखिममा छन् । 

जिल्लाका सबै पालिका प्रमुखहरूको सहभागितामा यसबीच महत्वपूर्ण जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको भए पनि नगरप्रमुख केसीको सहभागिता हुन सकेन । बाढी तथा पहिरो पीडितको अवस्था बुझ्न सांसद तथा अन्य नेताको टोलीले अनुगमनसमेत गर्दा पनि आफ्नै नगरप्रमुख भारततिर छन् । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले प्रभावित परिवारहरूसँग भेटघाट गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू