सिंहदरबारमा बिहानैदेखि बाक्लो आन्तरिक र वाह्य भेटघाट

सिंहदरबारमा बिहानैदेखि बाक्लो आन्तरिक र वाह्य भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भेट गरेका छन् । प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि कुँवर अपरान्ह पौने ५ बजे पुगेर १० मीनेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरिएका थिए । 

सञ्चार मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र गृहमन्त्री रमेश लेखकबीच दिउँसो पौने २ बजेदेखि करिब आधा घण्टा छलफल भएको सञ्चार मन्त्रालय स्रोतले बताएको छ । त्यसअघि गृहमन्त्री लेखकसँग उहाँको कार्यकक्षमा कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेकी अष्ट्रेलियन राजदूत फेलिसिटी भोकले सवा १ बजेदेखि झण्डै साढे १ बजेसम्म बिदाई भेट गरेकी हुन् ।

उता, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा मध्यान्ह सभामुख देवराज घिमिरेसँग भेट गर्न संसद सचिवालय पुगेका थिए । थापाले सभामुख घिमिरेसँग उहाँको कार्यकक्षमा मध्यान्ह साढे १२ बजेदेखि पौने १ बजेसम्म कुराकानी गरेको स्रोतको दाबी छ । 

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग बिहान साढे ११ बजेदेखि झण्डै आधा घण्टा कुरानी गरेका छन् । मिश्री १० जनाको टोली लिएर परराष्ट्र मन्त्रालय पुगेका थिए । जसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि थिए ।

सोही टोलीले त्यसअघि अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग सवा १० बजेदेखि पौने ११ बजेसम्म भेट गरेको थियो । त्यसपछि लगत्तै गृहमन्त्री रमेश लेखकसँग गृह मन्त्रालयमा सवा ११ बजेसम्म छलफल गरेको हो । 

सबैभन्दा पहिले भारतीय विदेश सचिव नेतृत्वको टोलीले बिहान उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग उहाँको कार्यकक्ष पुगेर भेट गरेको थियो । टोली पौने १० बजे सिंहदरबारस्थित शहरी विकास मन्त्रालय पुगेको हो ।

टिप्पणीहरू