कानुन उपसचिवद्वारा प्रहरीको पर्खाल निर्माणमा अनियमितता

कानुन उपसचिवद्वारा प्रहरीको पर्खाल निर्माणमा अनियमितता

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर २ (मधेश), जनकपुरधामका तत्कालीन उपसचिव अवधकिशोर कुशवाहा भ्रष्टाचारमा तानिएका छन् । उनीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

मुद्दा चलाइएकामा पूर्वाधार विकास कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार, करार सेवामा कार्यरत इञ्जिनियर राममनिज यादव र जायसवाल कन्स्ट्रक्सनका निर्माण व्यवसायी तथा सञ्चालक राकेशप्रसाद जायसवाल हुन् । 

आयोगका अनुसार प्रदेशको गृह मन्त्रालयबाट आर्थिक वर्ष २०७७÷०७८ मा ईलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण गर्न बजेट छुट्याइएको थियो । त्यसपछि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट ठेक्का आह्वान गरियो । 

ती चार जनाको मिलेमतोमा गुणस्तरहीन कामका साथै फिल्डमा हुँदै नभएको कार्य सम्पन्न भएको झुट्टा नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार पारेर भुक्तानी दिइएको अख्तियारको आरोप छ । 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम पाँच लाख ३१ हजार ४२८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

टिप्पणीहरू