कार्यकर्ताको पनि सम्पत्ति खोजौँ न कमरेड

कार्यकर्ताको पनि सम्पत्ति खोजौँ न कमरेड
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले हालै एउटा बडो क्रान्तिकारी कुरा गर्नुभएछ । त्यो पनि पार्टी बिग्रेर रसातलमा पुगेको झण्डै १७ वर्षपछि । त्यो क्रान्तिकारी कुरो गर्दै शनिबारदेखि शुरु भएको स्थायी समिति बैठकमा उहाँले नेताको यथार्थ सम्पत्ति विवरण सार्वजनिक गरौँ भन्नुभएछ । यसो गर्नसके मात्रै पार्टीको प्राण जोगिने, पार्टीले मलजल पाउने बताउनुभएछ । 

केही वर्षदेखि पार्टीमा मूल नेतृत्वसँग समानान्तर पौँठेजोरी खेल्दै आएको आरोप लागेका र केही वर्षअघि सार्वजनिक कार्यक्रममा नै सुप्रिमोलाई चेक दिनुभएका शर्माले पार्टीभित्र अरुभन्दा फरक नेता देखिन यो प्रस्ताव राख्नुभएको हो कि आफूलाई जनमानसमा लोकप्रिय देखाउन यस्तो कार्ड फाल्नुभएको हो ? यो त विस्तारै थाहा हुँदै जाने कुरा भयो ।

अहिलेलाई रामजाने, किनकि यो उहाँको अन्तरमनबाहेक अरुलाई थाहा हुने कुरा भएन । साँच्चै पार्टी जोगाउन, बचाउन यस्तो प्रस्ताव राख्नुभएको हो भने सम्पत्ति सार्वजनिक गर्ने शुरुवात आफैँबाट गर्नुहोला । किनकि घरजग्गा, मिडिया, व्यापार, व्यवसायमा लगानी गर्न लगाएको भन्ने आरोप त उहाँमाथि नै पनि छ । त्यसैले पपुलर हुनकै लागि हो भने यो प्रस्ताव तेस्र्याइ मात्रै रहनुहोला ।

यद्यपि शर्माले सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव राखे पनि अवैधानिक देखिएमा त्यस्तो सम्पत्ति राज्य वा पार्टीलाई फिर्ता गरौँ भन्ने प्रस्तावचाहिँ राख्नुभएको छैन । यस्तै उहाँले नेताका सम्पत्ति मात्रै सार्वजनिक गरौं भन्नुभएको छ । कार्यकर्ताका सम्पत्तिको कुरै गर्नुभएको छैन । सायद कार्यकर्ता आफूसँग रिसाउँछन् भनेर होला । जनयुद्धकालमै अवैधानिक रूपमा लुटिएका, चन्दा मागिएका सम्पत्ति टाठाबाठा नेता, कार्यकर्ताले झ्वाम पारेकै हुन् ।

जिन्दगी आज हो कि भोलि हो भन्दै सक्नेले सकुञ्जेल मोजमस्तीमा खर्च गरेकै हुन् । कतिपय दूरदर्शी नेता, कार्यकर्ताले आफन्त, नातागोतालाई राख्न, धन्दा चलाउन दिएका हुन् । कतिले त माटामा गाडेर लुकाएको पनि बाहिर आएका छन् । विचरा सोझा नेता, कार्यकर्ता भने हिजो पनि चिःचि गर्दै थुक निलेर बस्न बाध्य थिए । कतिले त एकछाक मीठो मसिनो खान नपाई सहादत नै प्राप्त गरे । आज पनि सोझासीधा नेता, कार्यकर्ता, सहिद, बेपत्ता, घाइते, अपांगता भएका व्यक्तिको अवस्था कति दयनीय छ, भोग्नेलाई मात्रै थाहा होला । 

शान्ति प्रक्रियामा आएको १६ वर्षमा पटक पटक सत्ता र सरकारको तर मारेका बाठा नेता, कार्यकर्तालाई चाहिँ जहिले पनि दशैँ नै दशैँ भयो । यिनले भोलिको लागि समेत सम्पत्ति जोहो गरे, गरेका छन् भन्ने समाजलाई लागेको छ । यस्ता नेता, कार्यकर्ताले सम्पत्ति आफैँ मात्रै नराखेका हुन्सक्छन् महोदय । त्यसैले नेताको मात्रै यथार्थ सम्पत्ति सार्वजनिक गर्ने होइन, ती नेतासँग घाँटी, मुख जोडिएका कार्यकर्ता, सत्ता र सरकारमा पटक पटक बसेका विभिन्न नियुक्तिवालाको पनि सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।

नेता, मन्त्री, प्रधानमन्त्री, सांसदको नाममा ती कार्यकर्ता, सल्लाहकार, पिएहरूले अकुत सम्पत्ति कमाएका हुन सक्छन् । ती भ्रष्ट नेताले आफ्नो सम्पत्ति कार्यकर्ताको नाममा राखेर वा व्यापार, व्यवसायमा लगाएर आफू सर्वहारा भएको नाटक मञ्चन गरेका हुन सक्छन् । यतिमात्रै पनि होइन महोदय, ती नेता र कार्यकर्ताले बहिनी, ज्वाइँ, भदाभदै, सालासाली, मामाको छोराछोरी, सानिमाको छोराछोरी, त्यो पनि नभए मितमितिनीको नाममा सम्पत्ति राखेर वा व्यापार, व्यवसाय गर्न दिएर आफू जोगी भएको देखाएका हुन सक्छन् । 

यो कुरा ख्याल ख्याल र ठट्टै ठट्टामा लेखिएको पनि होइन, सबै नेता, कार्यकर्ताको सम्पत्ति सार्वजनिक गरेर गलत धन्दाबाट कमाइएको सम्पत्ति राज्यलाई फिर्ता गरेमा माओवादीमा साँच्चै नयाँ श्वासप्रश्वास हुनेछ । किनकि अन्य पार्टीका नेता, कार्यकर्ताले राज्य दोहन गरेर कमाउनु र माओवादीले त्यसरी नै कमाउनुमा धेरै फरक छ ।

हजारौँको बलिदानसहित दश वर्षसम्म जनयुद्ध लडेर आएको, जनताको रगतमा टेकेर सत्ता र सरकारमा पुगेको पार्टीले केही गर्ला भन्ने आशाले त जनताले ०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनाएका थिए । नेता, कार्यकर्ताले त्यो विश्वास घटाउँदै गएकाले त पछिल्लो निर्वाचनमा ३२ सिटमा झारिदिएका हुन् । हो, त्यसैले नेता, कार्याकर्ताको अवैध सम्पत्ति खोजेर सार्वजनिक गर्दा पार्टीमा पारदर्शिता कायम हुन सक्छ । यसले ओरालो लागेको माओवादीको यात्रा उकालोतिर सोझिन सक्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू