पिता र फुपुपछि पेतोङत्रान थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा नियुक्त
पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३७ वर्षीया कान्छी छोरी राजनीतिमा प्रवेश गरेको छोटो समयमा प्रधानमन्त्री बनेकी छन् ।
उनी यसअघि परिवारको व्यवसायमा होटल तथा रेसोर्टहरुको जिम्मेवारी लिएकी थिइन् । एउटै परिवारबाट प्रधानमन्त्री हुनेमा उनी तेस्रो व्यक्ति बनेकी छन् । बुबा थाक्सिन र फुपु यिंगलक सिनावात्रा यसअघि प्रधानमन्त्री भएका थिए ।
थाइल्याण्डमा उनकै फुपु यिंगलकपछि उनी दोस्रो महिला प्रधानमन्त्री बनेकी छन् । पेतोङत्रान थाइल्याण्डमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेको रेकर्ड राखेकी छन् ।
मुुलुकको ३१औँ प्रधानमन्त्रीमा नियुक्त पेतोङत्रान राजनीतिक तथा व्यवसायीक घरानाकी सन्तान हुन् । बाबु थाक्सिन शिनावात्रा सन् २००१ देखि सन् २००६ सम्म प्रधानमन्त्री थिए । ब्लूमबर्गका अनुसार शिनावात्रा परिवारको कुल सम्पति २.१ बिलियन डलर छ ।
चुलालोङकोर्न युनिभर्सिटीबाट पोलिटिकल साइन्समा ब्याचलर गरेकी उनले बेलायतको युनिभर्सिटी अफ सर्रेबाट होटल म्यानेमेण्टमा मास्टर्स गरेकी छन् । त्यसपछि थाइल्याण्ड फर्केर परिवारको व्यवसायलाई सम्हालेकी हुन् ।
बाबु थाक्सिन सैन्य कू बाट अपदस्थ हुँदा उनी २० वर्षकी थिइन् । यही घटना नै उनको जीवनमा पहिलो राजनीतिक चेतना प्राप्त गर्ने अवसर मिल्यो । सन् २०२१ मा उनले फेउ थाइ पार्टीको नेतृत्व गरिन् ।
सन् २०१९ मा व्यवसायी पिताका सुक्सावतसँग बिहे गरेकी उनका दुई सन्तान् छन् ।
टिप्पणीहरू