कोशीमा दुई महिनापछि बैठक
कोशी प्रदेश सभाको बैठक तोकिएको मितिभन्दा अगाडि सारिएको छ । भदौ १८ गते दिँउसो १ बजेका लागि बोलाइएको पाँचौं अधिवेशनको चौधौ बैठक चार दिन अगाडि सारिएको छ ।
बैठक भदौ १४ गते दिउँसो १ बजे विराटनगरस्थित कोशी प्रदेश सभा हलमा बस्नेगरी आह्वान भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको यसअघिको सूचनामा प्रदेश सभा सचिवालयले भदौ १८ गते बस्नेगरी बोलाएको बैठक भदौ १४ गतेका लागि सारिएको उल्लेख छ ।
संशोधित सूचनामा भनिएको छ, ‘कोशी प्रदेश सभाको पाँचौं अधिवेशनको चौधौ बैठक मिति २०८१ साल भदौ १८ गते मंगलबार दिनको १ बजे बस्ने भनि सूचना नम्बर ०१–०८१–०८२ मिति २०८१–५–०४ मा सूचना प्रकाशित गरिएकोमा उक्त बैठक विशेष कारणले मिति २०८१ साल भदौ १४ गते शुक्रबार दिनको १ बजे कोशी प्रदेश सभाहल, विराटनगरमा बस्ने भएकोले कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’
गत असार ८ गते बसेको तेह्रौं बैठकपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । झण्डै दुई महिना हुन लाग्दासमेत बैठक नबोलाएपछि प्रदेश सभा सदस्यहरुले आपत्ति जनाएका थिए । उनीहरुकै दबाबमा बैठक डाकिएको बताइन्छ ।
टिप्पणीहरू