एकीकृत समाजवादीले थाल्यो निर्वाचनबाट पदाधिकारी छान्ने प्रक्रिया

एकीकृत समाजवादीले थाल्यो निर्वाचनबाट पदाधिकारी छान्ने प्रक्रिया

नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचन माध्यमद्वारा चयन गर्न थालिएको छ । महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेपछि हिजो बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको छ ।

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार आजबाट निर्वाचन प्रक्रिया थालिएको छ । जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो । 

पदाधिकारी सहित सर्वसम्मत गराउने प्रयास असफल भएपछि केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढाइएको बताइन्छ । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब दिँदै आएका थिए । 

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुंग्याउन एकीकृत समाजवादीलाई सकस परेसँगै निर्वाचनको प्रक्रिया रोजिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे मनोनयनपत्र वितरण गरिएको छ । बिहान ७. ३० देखि ८.३० सम्म मनोनयन दर्तासँगै अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । 

त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आजै बेलुकी ६ बजेबाट मतगनणा सुरु गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले बताए । निर्वाचन प्रक्रियाबाट १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । 

केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिँदै छन् । एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी रहनेछ । असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीले १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपनि पदाधिकारी, पोलिटव्युरो र केन्द्रीय सदस्यहरु छान्न लामो समय लागेको हो ।

टिप्पणीहरू