सभामुखले आज प्रधानमन्त्री कार्यालयको पत्र पढेर सुनाउँदै
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
त्यस्तै प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने अर्को कार्यसूची पनि छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । सांसदहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत तय गरिएको छ।
आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिने बताइएको छ । त्यसैगरी सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद एवम् पूर्व भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा प्रतिनिधि सभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
टिप्पणीहरू