रास्वपाबाट निकालिएका मुकुलको प्रतिक्रिया- रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ

रास्वपाबाट निकालिएका मुकुलको प्रतिक्रिया- रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निष्कासनमा परेका डा. मुकुल ढकालले आफूलाई कारवाही गर्ने अधिकार उक्त पार्टीलाई नभएको प्रतिक्रिया दिएका छन् । 

रास्वपालाई 'रवि लामिछाने क्लव'को संज्ञा दिँदै उनले त्यस्तो दाबी गरेका हुन् । आज बिहान बसेको रास्वपा केन्द्रीय समिति बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । त्यसलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै ढकालले भनेका छन्, 'रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई छैन ।' 

उनले सभापति रवि लामिछानेमाथि नैतिक प्रश्न उठाउँदै साधारण सदस्यबाट राजीनामा गर्नुपर्ने तर्क पनि गरेका छन् । 'न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ', ढकालको जिकिर छ । 

तर, लामिछाने नैतिकरूपले पतित पात्र भएकाले त्यस्तो अपेक्षा गर्न नमिल्ने उनले बताए । 'उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टी गर्दै जानेछ', ढकालले सञ्जालमा लेखेका छन् । 
 
त्यस्तै, सहकारी प्रकरणमा लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडको उनको आरोप छ । आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै लामिछानेले जनतामा भ्रम छरेको र न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गरेको ढकालले दाबी गरे । 

यसअघि पनि ३५ दिनको म्याद दिएर प्रष्टिकरणको मौका दिइएका ढकाललाई त्योभन्दा पहिले पार्टी अनुशासन र आचरणविपरीत गतिविधिको आरोपमा महामन्त्री र प्रवक्ताबाट हटाइएको थियो । पार्टी सभापतिलगायत शीर्ष नेतृत्वमाथि निरन्तर आरोप र लाञ्छना लगाएपछि अनुशासन आयोगले उनलाई पद र पार्टीबाट निष्कासन गर्न सुझाएको थियो ।

गत बुधबारको केन्द्रीय समिति बैठकले २४ घण्टे स्पष्टीकरण सोधेपछि ढकालले सभापति लामिछानेमाथि लागेका विभिन्न आरोप सत्य रहेको दाबी गरेका थिए । दोहोरो नागरिकता र राहदानीपछि लामिछानेले सहकारीको करोडौं रकम हिनामिना गरेको ठहर गर्दै उनलाई जेल हाल्नुपर्ने बताएका थिए ।

टिप्पणीहरू