प्रधानमन्त्रीको आँखामा आँशु, प्रकाशलाई भेट्न इच्छुक
'हेर्ने कथा'को पछिल्लो अंक ‘हराएका वर्षहरू’ हेरेर प्रधानमन्त्री केपी शर्मा ओली रुनुभएको छ । कार्यक्रमको भिडियो क्लिप सञ्जालमा राख्दै उहाँले आँशु झरेको बताउनुभएको हो ।
पत्रकार विद्या चापागाईँले नेतृत्व गरेको हेर्ने कथा कार्यक्रममा ग्रामिण तथा विकट भूगोलका समुदाय र पात्रहरुको कथा भनिँदै आएको छ । पछिल्लो अंकमा प्रकाश तामाङ उर्फ काले मोक्तानको कथा प्रस्तुत गरिएको छ । झापा घर भएका उनी १० वर्षको उमेरमा काम गर्न (गलैँचा बुन्न) काठमाडौँ आएका थिए । तर, जोरपाटीबाट हराए ।
केही दिनपछि उत्तरी गोर्खाका केही मानिसले उनलाई भेटाए र दुई हप्ताको बाटो हिँडाएर चुम भ्याली पुर्याए । त्यसयता उनले हिमाली खर्कहरुमा गोठालो भएर जीवन बिताइरहेका छन् । उनलाई पढ्न लेख्न आउँदैन । आफ्नै उमेर थाहा छैन । साहुको घरमा पशु-चौपायको गोठालो गरेवापत पाउने दुई छाक खाएर उनले तीन दशकभन्दा बढी समय त्यतै बिताए ।
हेर्ने कथाको टिमले उनलाई गत वर्ष चुमभ्यालीकै एउटा खर्कमा भेट्यो । उनको नाम, ठेगाना, बाआमा, परिवार सबै सोध्यो । तर, प्रकाशलाई केही थिएन । हेर्ने कथा टिमले प्रकाशलाई आफ्नो पहिचान खोजिदिन झापा लग्यो । भोजपुर पुर्यायो ।
अन्ततः प्रकाशले वर्षौपछि आफ्नो बाआमा भेटे । दाइभाइ, छिमेकी र आफन्त भेटे । यी सबै दृश्य प्रस्तुत गरेको कार्यक्रम हेरेपछि यतिबेला दर्शकहरुले हेर्ने कथाको प्रशंसा गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले पनि कार्यक्रम हेरेपछि भावनाको आयतन थेग्न नसकेर आँशु झरेको प्रतिक्रिया दिनुभएको हो । उहाँले प्रकाशजस्ता सानैमा हराएर अन्जान ठाउँमा बाँच्न बाध्य भएका अन्य बालबालिकाहरु कति होलान् ? भनेर चासोसमेत राख्नुभएको छ ।
‘भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ, प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो’, उहाँले सञ्जालबाट भन्नुभएको छ, ‘यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् !’
त्यसो त, यो कार्यक्रम गत वर्ष खिचिएको भए पनि एक दिनअघि मात्रै सार्वजनिक गरिएको हो । ‘हेर्ने कथा’ टिमले प्रकाशलाई परिवारसँग भेटाइदिएपछि पनि उनी अहिले फेरि चुमभ्यालीमै पुगेको बताइएको छ ।
प्रकाशको भनाई उदृत गर्दै हेर्ने कथाले भनेको छ, ‘पाँच/छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने सम्पत्ति केही छैन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु ।’
यही प्रसंगलाई लिएर केही मानव अधिकारकर्मीहरुले ‘हेर्ने कथा’ले आँशु र भावनाको व्यापार गरेको टिप्पणी पनि गरेका छन् । हेर्ने कथाले प्रकाशलाई चुमभ्याली नफर्काउन सम्बन्धित निकायको रोहबर र रोजगारीको सुनिश्तिता गर्नुपर्ने उनीहरुको तर्क छ । कतिपयले त ‘हेर्ने कथा’ले पछिल्लो अंकबाट आम्दानी गरेको ५० प्रतिशत रकम प्रकाशलाई नै दिनुपर्ने मागसमेत छन् ।
यद्यपि, दर्शकहरुले भने हेर्ने कथाले एउटा हराएको मानिसलाई परिवारसँग पुनः मिलन गराइदिएर आफ्नो कर्तव्य मात्रै पूरा गरेको भन्दै सम्पूर्ण जिम्मेवारी लिन नसक्ने बताएका छन् ।
टिप्पणीहरू