कांग्रेस-एमालेलाई प्रचण्डको चुनौती- प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुस्

कांग्रेस-एमालेलाई प्रचण्डको चुनौती- प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिको सभापति प्रतिपक्षलाई नदिएकोमा आपत्ति जनाउनुभएको छ । लेखा समितिको नेतृत्व आफैँ राख्न सत्तापक्षले अनेक कुतर्क गरे भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।  

प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न चुनौती पनि दिनुभयो । ‘संसदीय परम्परामा संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने गरेको छ', उहाँले भन्नुभयो, 'यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसदमा पनि प्रतिपक्षले लेखा समितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ !

प्रतिनिधिसभाको लेखा समिति पाउन राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाडसम्म भनिएको भन्दै प्रचण्डले प्रश्न गर्नुभयो, 'किन गरिँदै छ यस्तो ? किनकि माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिङ्गै दुई तिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ ।'

प्रतिपक्षको भूमिका खोसेर जनताको आवाज दबाउने प्रयास नगर्न चेतावनी दिँदै उहाँले अगाडि भन्नुभयो, 'मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरुसँगै राख्नोस् । हामीले हिजो केवल एउटा जिम्मेवार नागरिकका रुपमा तपाईहरुको कुशासनको प्रतिरोध गरेका हौं, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौं ।’

चालीस दिनमै सरकार स्वार्थ समूहहरुका पक्षमा खुलारुपमै उभिएको दाबी गर्दै उहाँले त्यसको झिल्का जताततै देखिन थालेको बताउनुभयो ।

टिप्पणीहरू