हिजोका पराइ, आजका प्यारा

हिजोका पराइ, आजका प्यारा
सुन्नुहोस्

नेपालको राजनीतिमा जसरी दल–दलबीचको सम्बन्ध कहिले एकातिर ट्याप्प त कहिले अर्कातिर गम्ल्याङ हुने गरेको छ, त्यस्तै खालको सम्बन्ध दलभित्र आन्तरिक रूपमा पनि देखिने गरेको छ । कुनै एउटा नेताको प्रिय पात्र भनी चिनिने व्यक्ति एउटा कालखण्डमा उसकै विपक्षी कित्तामा उभिएको भेटिन्छ । अनि त्यसैगरी कुनै बेला काँध थापेर, चुनौती स्विकारेर हिँड्नेहरू विस्तारै किनारा लागेका र तिनै नेताबाट दुत्कारमा परेका घटना पनि प्रशस्तै छन् । 

एमालेभित्र यस्तो अलिक धेरै देखिन्छ । केपी ओलीको स्वास्थ्य अत्यन्तै नाजुक बन्दा एयर एम्बुलेन्सको व्यवस्थापन गरेर भारतसम्म उपचारका लागि पुर्‍याउने काममा सबैभन्दा सक्रिय थिए, विनोद ढकाल । अहिले उनै ढकाल अर्को कित्ताको मान्छे ठहरिँदा पूर्वमा उनलाई ओलीले साथ दिएनन् । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनताका ओलीलाई कुनै हालतमा छाड्नुहुँदैन, माधव नेपालसँग लड्नुपर्छ भन्ने गोकुल बाँस्कोटा र विनोद ढकाल अहिले टाढा छन् । तर, त्यसैबेला माधव नेपाललाई अध्यक्ष बनाऊँ, तपाईँ महासचिव वा वरिष्ठ उपाध्यक्ष बन्नुस् भन्न जाने शंकर पोखरेल, राजन भट्टराई, विष्णु रिमाल, भानुभक्त ढकालहरू निकट छन् । त्यसबेला ‘तपाईंहरू जे मन लाग्छ त्यही गर्नुस्, साथ दिने भए दिनुस् नदिने भए नदिनुहोस् तर उप्रान्त यस्ता कुरा लिएर मकहाँ नआउनुस्’ भन्दै ओलीले गेट आउट गरेकाहरू अहिले प्रिय पात्रका रुपमा प्रकट हुँदा उदेक लागेको प्रत्यक्षदर्शीहरू बताउँछन् । त्यसबेला ओलीको वचन सुन्नेहरू भन्छन्, ‘शरीरमा पानी बगेको छ कि रगत ? तपाईंहरु अबदेखि यस्ता दोग्ला कुरा गर्दै मेरो सामुन्ने नपर्नु’ ।

एमाले नेताहरू भन्छन्, ‘आफू सिनियर हुँ भन्ने नेताहरू त्यसबेला भित्रभित्रै ओलीको समर्थन गरे पनि बाहिर खुलेर बोल्ने आँट गर्दैनथे । ओली र माधव नेपाललाई मिलाएर लैजाने र आफ्नो स्थान सधैँ सुरक्षित राख्ने ध्याउन्नमा लागेका देखिन्थे ।’ विगतमा ओलीलाई आँखा चिम्लिएर साथ दिएका तर अहिले आजित भएर उनीसँग पन्छनेमध्येका हुन्, प्रदेश नम्बर १ का नेता विनोद ढकाल । बागमतीको हकमा गोकुल बाँस्कोटाको स्थिति त्यही छ । धन्न, बाँस्कोटा आफ्नो छुट्टै जरा गाडेर बसेका छन् । नत्र उनलाई उखेल्न ओलीले कुनै आइतबार कुर्ने थिएनन् भन्नेहरू पनि एमालेभित्र धेरै छन् । त्यसैगरी ओलीलाई जतासुकै बोकेर हिँडेका तर अहिले उनीबाट बेवास्तामा परेका अर्का पात्र हुन्, कर्ण थापा ।

विगतमा उनको निकै कठोर आलोचकका रूपमा चिनिएका ईश्वर पोखरेल अहिले कामचलाउ पात्रमा गनिन्छन् । ओलीलाई पूरै आफ्नो मुठीभित्र कब्जा गरेका भनी चिनिने विष्णु रिमाल पनि विगतमा ओलीका आलोचक नै थिए । अर्को नाम हो, विष्णु पौडेल । जो विगतमा ओलीको विपक्षमा बसेर माधव नेपालको निकट मानिन्थे । बीचमा ओलीको प्रिय पात्र बने र अहिले फेरि टाढा राख्न खोजिँदै छ । ओलीद्वारा बागमती प्रदेश, त्यसमा पनि काठमाडौँ उपत्यकाका नेवारहरूको बस्ती बीचमा ल्याएर इञ्चार्ज बनाइएका पात्र हुन् राजन भट्टराई । उनी त झन् विगतमा माधव नेपालका सल्लाहकार नै थिए । तर, अहिले ओलीका प्रिय मानिन्छन् । विद्या भण्डारी माधव नेपालको मन्त्रिपरिषद्मा रक्षामन्त्री थिइन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू