पत्रकारका नाममा मुर्गा हन्टिङ, पटक–पटक पक्राउ

पत्रकारका नाममा मुर्गा हन्टिङ, पटक–पटक पक्राउ
सुन्नुहोस्

‘चोर्नेलाई मस्ती, क्षति व्यहोर्नेलाई अनेकन सास्ती’ । भारतको पश्चिम बंगाल घर भई २८ वर्षदेखि नेपालमा बस्दै आएका ४८ वर्षीय बुद्धदेव मैतीको भोगाइ हो यो । राजनीतिक पहुँचको आडमा चोरी गर्ने युवती खुलेआम हिँडिरहँदा उनलाई भने अदालतको चक्कर काट्दाकै हैरानी छ । 

आफ्नै पसलमा काम गर्ने कर्मचारीले लाखौंको क्षति पुर्‍याएर उल्टै तिनले विभिन्न मुद्दा हालेर बुद्धदेवलाई दुःख दिइरहेकी छिन् । काठमाडौंको न्युरोडस्थित न्युदिप ज्वेलर्स सञ्चालन गर्दै आएका उनको पसलबाट गत वर्ष लाखौं रूपैयाँ र गरगहना चोरी भएको थियो । यस्तो काममा उनकै पसलमा काम गर्ने बैतडीको सिंगास गाउँपालिका ८ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षीया स्मारिका बोहोरा संलग्न थिइन् । 

नेकपा विप्लव काठमाडौंका सक्रिय कार्यकर्ता राम बोहोराकी छोरी उनले ज्वेलर्समा ‘सेल्स गर्ल’ का रूपमा दुई वर्ष काम गरिन् । वैशाखमा बुद्धदेव पसल बन्द गरेर कलकत्ता  गएका थिए । सोही क्रममा स्मारिकाले सटरको ‘डुप्लिकेट’ चाबी बनाइन् । यता, हम्मरमार्फत सेफको चाबी फुटाएर नगद र गहना गरी ६७ लाख हात पारिन् । 

त्यसो गर्दा मान्छे बोलाएर सिसीटिभी क्यामेरासमेत बन्द गरेको पाइयो । फर्किएपछि मात्र बुद्धदेवले एक कर्मचारीमार्फत आफ्नो पसलमा चोरी भएको थाहा पाए । स्मारिकाले कोठाबाट समेत रकम निकालेको बुद्धदेवको भनाइ छ । बुद्धदेवको न्यूरोडस्थित एउटै घरमा पसल, कारखाना र कोठा छ । 

उनले कोठामा रहेको सेफको समेत नक्कली चाबी बनाएर २७ लाख नगद, दुई लाख उनलाई छोडेको रकम, हिराको गहना, सुनको लकेट चार थान, चार तोला २५ लाल सुन, रानीहार तीन सेट, तिलहरी एक थान, चुरा पाँच थान, हीराको गणेशको औंठी एक थान, सुनको औंठी, टपलगायत गहना लगेको बताउने बुद्धदेवले लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौंमा हालका डिआइजी दानबहादुर कार्कीसमक्ष उजुरी दिएबमोजिम प्रहरी वृत्त, जनसेवाबाट अनुसन्धान अगाडि बढ्यो । सो क्रममा ‘डुप्लिकेट’ चाबी बरामद भएको छ । त्यस्तै, उनको साथबाट एउटा औंठी पनि फेला परी चाबी जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । स्मारिकाविरुद्ध चोरीको मुद्दा अदालतमा विचाराधीन छ । 

अविवाहितविरुद्ध सम्बन्धविच्छेदको मुद्दा

बुद्धदेव ‘सिंगल’ हुन् । विवाह नै नभएको व्यक्तिलाई श्रीमान् भन्दै स्मारिकाले सम्बन्धविच्छेदको मुद्दा ०८० साउन २० गते हालिन् । सुन पसलमा भएको भेटघाट बाक्लिँदै गएपछि २०७८ असार १३ गते परिवारकै सहमतिमा मागी विवाह भएको उनको दाबी छ । विवाहअगाडि आफू एभिन्यूज टेलिभिजनमा समाचार वाचिका रहेको र श्रीमान्ले काम छुटाइदिएको उनको आरोप छ । आफूमाथि घरेलु हिंसासमेत गरेको उनले बताएकी छन् । 

मुद्दासँगै अदालतमा केही तस्बिर र टिकटक भिडियोहरू पेश गरेकी थिइन् । सो तस्बिर र भिडियो पसलभित्र बस्दा र मन्दिर जाँदाबखतको हो । न्यायाधीश उत्तम सिलुवालले भने तस्बिर र भिडियो देखाएकै आधारमा श्रीमान्÷श्रीमती कायम नहुने भन्दै मुद्दा खारेज गरिदिएका थिए । 

यता, उनी ६ दिन प्रहरी हिरासतमा पनि बसिन् । पुर्जी जारी भएपछि उनलाई प्रहरी वृत्त, बालाजुको सहयोगमा ओशो तपोवनबाट समातेर अदालतले तारिखमा छोडेको हो । 

कहिले महिला उद्यमी, कहिले सञ्चारिका 

स्मारिकाले आफूलाई कहिले महिला उद्यमी त कहिले सञ्चारिका भनेर चिनाउँदै आएकी छिन् । केही समय बागमती टेलिभिजनमा संलग्न उनी अहिले ग्लोबल टेलिभिजनमा छिन् । 

कांग्रेससम्बद्ध पत्रकार बताउने उनी नेताहरूसँग तस्बिर खिचाएर सामाजिक सञ्जालमा सेयर गरिरहेकी हुन्छिन् । केही समयअघिसम्म उनलाई फेसबुकमा काँग्रेस सभापति शेरबहादुर देउवा डा. आरजु राणालगायत नेतासँग देख्न सकिन्थ्यो । हाल ती तस्बिर हटाएकी छन् । अदालतलाई दबाबमा पार्नका लागि यस्तो पहुँच देखाउन खोजेको बुझिएको छ । 

बुद्धदेवको नाम लिँदै उनले व्यापारीहरूबाट बटुलेको लाखौं रूपैयाँ पनि बुद्धदेवले नै तिर्नुपर्ने भएको छ । आफूलाई खतरा भएपछि बुद्धदेवले प्रहरी र नेपालस्थित भारतीय राजदूतावासमा सुरक्षाका निम्ति निवेदन दिएका छन् । 

स्मारिकाले भने यसविषयमा आफू केही नबोल्ने बताइन् । ‘अदालतमा मुद्दा छ । तपाईंले अदालत मान्नुहुन्छ कि मान्नुहुन्न ? विचाराधीन मुद्दामा प्रश्न सोध्ने तपाईं को ?’, उनले आक्रोशित हुँदै फोन काटिदिइन् । 

बुद्धदेव मिल्दासम्म उठबस गर्ने प्रतिनिधि पात्र मात्र हुन् । यस्तो घटना जोकोहीमाथि पनि घट्न सक्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू