राजश्व नउठेपछि बैठक तारन्तार : हिजो प्रधानमन्त्रीको निर्देशन, आज अर्थमा छलफल
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक अर्थ मन्त्रालयमा बसेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रमेश लेखकको उपस्थितिमा डाकिएको बैठकमा लक्ष्यअनुरुप राजश्व नउठेकोमा चिन्ता व्यक्त गरिएको छ ।
राजश्व उठाउन गृह मन्त्रालयले पूर्णरुपमा सहयोग गर्ने वचनबद्धता गृहमन्त्रीले जनाउनुभएको छ । गृहमन्त्री लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि विगतमा सशस्त्र द्वन्द्वमा बन्द छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
अर्थ मन्त्रालयले राखेको अपेक्षाअनुसार राजश्व नउठेपछि हिजो प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक राखिएको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा राजश्व चुहावट र यसको रोकथामबारे छलफल भएपछि आज अर्थ मन्त्रालयमा बैठक बसेको हो ।
हिजो अपरान्ह साढे ४ बजेदेखि १५ मीनेट भएको छलफलमा गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याललगायतको उपस्थिति थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सम्पत्ति शुद्धिकरण विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशकहरुलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको पनि बैठकमा सहभागिता थियो ।
आजको बैठकपछि गृहमन्त्रीले मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरुसँग छलफल गरेर राजश्व बढाउन निर्देशन दिएको बताउनुभयो ।
टिप्पणीहरू