सत्तापक्षकै सांसद भन्छन्- सरकारले गफबाहेक केही गरेन

सुन्नुहोस्

सत्तारुढ जसपा नेपालका सांसद राजकिशोर यादवले केपी ओली नेतृत्वको सरकारले गफ लगाउने बाहेक एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा काम हुन नसकेको उनले बताएका हुन् । आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले गफ ठूलो गर्ने तर काम चाहीँ एउटा पनि गर्न नसकेको दाबी गरे ।

 संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदूत नियुक्ति गरेको भन्दै उनले आपत्ति जनाए । ‘सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? हामीले यो संविधान लेख्दा यो संविधानको आत्मा समानुपातिक समावेशीमा छ', यादवले भने, 'तर सरकारले अहिले राजदूतहरुको जुन सिफारिस गरेको छ । त्यो कुनै पनि कोणबाट समावेशी देखिँदैन । त्यो एक प्रकारको एकल जातीय, एकल सांँस्कृतिक पहिचान झल्किने गरी सिफारिस गरिएको छ ।'

सरकारले यसरी ठाडै संविधान उल्लङ्घन गर्दा जनताले पनि त्यसै गरे परिस्थिति के होला ? भन्दै उनले चिन्तासमेत व्यक्त गरे । 

अन्तिम विकल्पका रुपमा संसदका दुई ठूला दल मिलेर सरकार बनाएको उल्लेख गर्दै उनले नागरिकलाई आशावादी बनाउन सक्नुपर्ने बताए । तर, सरकार त्यसतर्फ उन्मुख नहुँदा जनतामा निराशा बढेको यादवको भनाई छ । 

'यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ चाहीँ ठूलो ठूलो चुट्ने, तर काम चाहीँ एउटा पनि औलामा गन्नसक्ने छैन’, उनले भने ।

टिप्पणीहरू