बालेनप्रति प्रधानमन्त्रीको आक्रोश, सर्वोच्चको फैसलाले भगवान पनि पीडित भएको दाबी

बालेनप्रति प्रधानमन्त्रीको आक्रोश, सर्वोच्चको फैसलाले भगवान पनि पीडित भएको दाबी
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलाबाट आफूलाई ठूलो देखाउन खोज्ने र जनताको वास्ता नगर्नेहरु खुशी भएको टिप्पणी गर्नुभएको छ । 

'उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूह'को ज्ञापनपत्र बुझ्दै उहाँले काठमाडौँ महानगरका मेयर बालेन साह लक्षित यस्तो टिप्पणी गर्नुभएको हो ।  सोक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला कार्यान्वयन नहुनेसमेत स्पष्ट पार्नुभयो । 

'सम्मानित सर्वोच्च अदालतबाट त्यस प्रकारको फैसला आएको र त्यो फैसलाबाट केही मानिसहरु खुशी भए होलान् । वास्तवमा आफूलाई ठूलो देखाउन खोज्ने र जनताको वास्ता नगर्ने त्यस्ता तत्वहरु खुशी भए होलान्', बालेनको नाम नलिई उहाँले भन्नुभयो, 'तिनीहरुले मापदण्ड कार्यान्वयन गर्छु भनेर भनेका होलान् । तर यो निर्णयले वास्तवमा जनताको स्थायी बसोवास, धनीपूर्जा, लालपूर्जा भइरहेको ठाउँ हो ।'

सर्वोच्चले हालै काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छाड्नुपर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यन्वयनका लागि महानगरले सूचना जारी गरेको थियो । त्यसलाई लिएर एमाले कार्यकर्ता र बालेनका समर्थकबीच फेसबुकमा 'वार' चलिरहेको छ । 

प्रधानमन्त्री ओलीले सर्वोच्चको उक्त फैसला कार्यान्वयन हुँदा जनताको स्थायी बसोवास नै मासिने दाबी गर्दै भ्याकेट (पुनरावलोकन) मा जाने बताउनुभएको छ । अदालतले पर्याप्त अध्ययनबिना नै यस्तो निर्णय गरेको उहाँको जिकिर छ । 

'बसोवास भइरहेको ठाउँ फेरि नयाँ बिस्तार गर्दा २०-२० मिटर छोड्दाखेरी चौथाई काठमाडौं नै सकिने स्थिति बन्छ । यो पर्याप्त अध्ययनबिनै निस्कर्ष आयो । उपयुक्त निस्कर्ष आएन । त्यसकारण हामीले भ्याकेटमा जाने भनेका छौँ । म के विश्वास गर्छु भने सम्मानित सर्वोच्च अदालले जनताका समस्या, जनताका पीरमर्का ति कुरालाई बुझ्नेछ', प्रधानमन्त्रीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले धार्मिक मूल्य मान्यता, आस्थाका धरोहरहरुको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेकोमा पनि जोड दिनुभएको छ । अदालतको निर्णयले जनतामात्रै नभइ भगवान पनि पीडित हुने उहाँले टिप्पणी गर्नुभयो । पशुपतिनाथ कहाँ लैजाने ? ओलीको प्रश्न छ ।

टिप्पणीहरू