रविले झैँ काँग्रेस उपसभापतिले पनि करोडौं हिनामिना गरेको रास्वपाको दाबी

रविले झैँ काँग्रेस उपसभापतिले पनि करोडौं हिनामिना गरेको रास्वपाको दाबी
सुन्नुहोस्

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा नाम जोडिएका सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आज संसद बैठकमा गुरुङउपर छानबिन गर्ने कि नगर्ने ? भनी प्रश्न गरे । 

उक्त सहकारी संस्थाको करिब १५ करोड रकम हिनामिनामा पूर्वमन्त्रीसमेत रहेका गुरुङ र उनकी श्रीमतीविरुद्ध संसदीय छानबिन विशेष समितिमा उजुरी परेको छ । सहकारी अध्यक्ष कुम्भराज गुरुङले धनराजले ठगी गरेको दाबीसहित उजुरी दिएको जनाउँदै सांसद पराजुलीले छानबिन गर्नुपर्ने हो कि हैन भनेर सोधेका हुन् । 

यसअघि सहकारी ठगी प्रकरणमै आफ्ना सभापति रवि लामिछानेमाथि छानविनको माग गर्दै संसदमा चर्को विरोध गरेको कांग्रेसलाई कटाक्ष गर्दै उनले प्रश्न गरे– गुरुङमाथि छानबिनको माग गर्दै संसदको बेल घेराउ गर्ने कि नगर्ने ? 

पराजुलीले अगाडि भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के–केसम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

एपिवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै उनले त्यतासमेत छानविन गर्ने हो कि हैन भनेर प्रश्न उठाएका छन् । ‘एपिवान टिभिमा जिबि राईले लगानी गरेका थिए भन्ने कुरा सञ्चार माध्यमबाट छ्यापछ्याप्ती सुन्न आइरहेको छ । त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानबिन गर्ने कि नगर्ने ?’, पराजुलीले सदनमा प्रश्न गरे, ‘सरकार बनाउने भूमिमा खेल्ने सो टिभिका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन ? म गृहमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु ।’

अहिलेको सत्ता गठबन्धन बनाउन मुख्य भूमिका खेलेका क्याप्टेन रामेश्वर थापा एपीवानका मालिक हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच असार १७ गते मध्यरातमा गरिएको सात बुँदे सहमति उनकै घरमा भएको थियो ।
 

टिप्पणीहरू