हिरोइनको घाँटीमा अड्याइएको डाइरेक्टरको हात बिस्तारै चलमलाउन थालेपछि...

हिरोइनको घाँटीमा अड्याइएको डाइरेक्टरको हात बिस्तारै चलमलाउन थालेपछि...
सुन्नुहोस्

बंगाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्देशक अरिन्दम सिलमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । उनीमाथि एक अभिनेत्रीले यस्तो आरोप लगाए पनि हिरोइनको नाम खुलाइएको छैन । ‘एक्ती खुनिर सन्धाने मितिन’ नामक चलचित्रको छायांकनका क्रममा यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि धेरैले अभिनेत्री कोइल मल्लिक रहेको अनुमान गरेका छन् । 

घटना गत अप्रिल ३ तारिखको भए पनि हालसम्म सार्वजनिक भएको थिएन । अभिनेत्रीले पश्चिम बंगालस्थित महिला आयोगमा हालै उजुरी दिएपछि मात्र निर्देशकको करामत बाहिर आएको हो ।

आयोगकी प्रमुख लीना गांगोपध्यायका अनुसार निर्देशक अरिन्दमले ती अभिनेत्रीलाई चलचित्रको छायांकनको क्रममा चुम्बन गरेका थिए । अभिनेत्रीको भनाईलाई उदृत गर्दै लीनाले भनेकी छन्, ‘छांयाकन चलिरहेको बेला उनले मलाई आफ्नो काखमा बस्न भने । मैले मानिनँ । अलि झर्केर, आदेश दियो । म अलि नर्भस भएर उसको काखमा बसेँ । त्यसपछि मेरो गालमा चुम्बन गर्यो । यो दृश्य देखेपछि वरपर रहेको प्रोडक्सन टिमका क्रू मेम्बरहरु हाँसिरहेका थिए । मानौ, कसैले चुट्किला भनिरहेको छ । परिस्थिति असहज भएपछि म उठेर टाढा गएँ । पछि एक्लै भएको बेला मैले उसलाई किन यस्तो गरेको अरुको अगाडि ? भनेर सोधेँ । उसले उल्टै जवाफ दियो, ‘के तिमीलाई मन परेन र ?’

यौन दुर्व्यवहारको आरोप लागेपछि पश्चिम बंगालको निर्देशक संघले अरिन्दमलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ । निर्देशक अरिन्दममाथि यस्तो आरोप लागेको यो पहिलो घटना होइन । सन् २०२० मा पनि अभिनेत्री रुपाञ्जना मित्राले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनले घटनाक्रम बताउँदै भनेकी थिइन्, ‘उसले टेलिभिजन शो भूमिकन्याको लागि स्क्रिप्ट हेर्न र पढ्न मलाई अफिसमा बोलायो । करिब साँझ ५ बजे उसको अफिस पुगेँ । त्यहाँ अरु कोही थिएनन् । पहिलो एपिसोडको स्क्रिप्ट पढिरहेको बेला उ आफ्नो कुर्सीबाट उठेर म बसेको ठाउँमा आयो र पछाडिबाट छुन थाल्यो । मेरो घाँटी हुँदै छातीसम्म हात लगेपछि प्रतिवाद गरेको थिएँ ।’

टिप्पणीहरू