मधेशको बैठकमा माओवादी एकतावद्ध बनाउन जोड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा आजदेखि शुरु भएको पार्टीको मधेश प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ’– प्रचण्डले भन्नुभयो– ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।’
दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ । सहभागीहरुका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
केन्द्रीय समितिको बैठकको तयारीस्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । जसअनुसार बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न भैसकेको छ ।
आज र भोलि अब मधेश प्रदेशको बैठक सकेर केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बस्नेछ । त्यसपछि केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ ।
टिप्पणीहरू