देश बन्न सजिलो नरहेको मन्त्री महावीरको ठहर

देश बन्न सजिलो नरहेको मन्त्री महावीरको ठहर

सुशीला कार्की नेतृत्वको सरकारका जेनजी मन्त्रीले सरकारी खर्चमा अमेरिका घुम्ने रहर गरेको भन्दै विवादमा परेका बेला अर्का भाइरल मन्त्रीले भने तीनवटा विदेश भ्रमण रध्द गरेको बताएका छन् ।  

मन्त्रालयमा ढिंडो पकाएर खाएको फोटो सामाजिक सञ्जालमा भाइरल गराएर चर्चा बटुलिरहेका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अहिलेसम्म तीन वटा भ्रमण स्वीकार नगरेको जानकारी दिएका हुन् । थप दुई वटा निम्तो आएकोमा त्यसलाई पनि अस्वीकार गर्ने उनले बताए । 

देशको अर्थतन्त्र नसुध्रिएसम्म सरकारी खर्चमा भ्रमण नगर्ने घोषणा गरेका पुनले विदेश घुमेर देशको अर्थतन्त्र सुधार हुन्छ ? भन्दै प्रश्नसमेत सोधेका छन् ।

'देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन,किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ?' 

'लौ जा,म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न', सामाजिक सञ्जाल फेसबुकमा निम्तो पत्र सार्वजनिक गर्दै उनले लेखेका छन्, 'देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन,किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ?'

मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर विदेश भ्रमण नगरेको पुनले दावी गरिरहँदा उनकै क्याबिनेटका अर्का मन्त्री बब्लु गुप्ता भने विदेश भ्रमणकै कुराले विवादमा तानिएका छन् । जेनजी सरकारका एक मात्र जेनजी मन्त्री उनी अमेरिकाको टेक्सस राज्यको डालस शहरमा जनवरी १६ मा हुने 'रुल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ द नेपाल पोस्ट जेन–जी रिभोलुसन' विषयक सम्मेलनमा जाने तयारी थियो । क्याबिनेटले भ्रमण स्वीकृत पनि गरिसकेको थियो ।

तर, गुप्तालाई अमेरिका लैजान नक्कली निमन्त्रणा बनाइएको भन्दै चर्को आलोचना भएपछि भ्रमण क्यान्सिल गरेको बताइएको छ ।

टिप्पणीहरू